हेटौंडा - मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.१ बागझोरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी गाउँपालिका वडा नं.६ बैंकरोड बस्ने सुमिन लामा रहेका छन् ।
त्रिभुवन राजपथको भैँसे–हेटौँडा सडक खण्ड अन्तर्गत भैंसेबाट हेटौंडातर्फ जादै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल बागझोरास्थित आफै अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खस्दा लामा गम्भीर घाइते भएका थिए । उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा लगिएकोमा शुक्रबार साँझ ९ बजेर २५ मिनेटमा डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार ३० वर्षीय रोमन बस्नेत घाइते भएका छन् । प्रहरीका अनुसार उनको बायाँ खुट्टा र च्यापुमा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।