प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

निजी र सामुदायिक स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुबाट हटाइयो

२०८२ असार १६, सोमबार १८:५५ बजे

हेटौंडा । देशभरका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरू अब आगामी श्रावण १ गतेदेखि "प्रथम सेवा विन्दु" को रूपमा रहने व्यवस्था हटाइएको छ।

स्वास्थ्य बीमा बोर्डले सूचना प्रकाशित गर्दै बोर्डद्वारा जारी पत्र अनुसार, स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) र नियमावली, २०७५ को संशोधित नियम २ को खण्ड (छ) को आधारमा अबदेखि सरकारी स्वास्थ्य संस्था मात्र प्रथम सेवा विन्दु रहने व्यवस्था लागू गरिने जनाएको छ  ।

हालसम्म बीमित नागरिकहरूलाई बीमा अन्तर्गत सुरुवाती सेवा दिने सामुदायिक र निजी संस्थाहरू श्रावण १ गतेदेखि सो भूमिका निर्वाह गर्न नपाउने स्पष्ट गरिएको छ ।

बोर्डका शाखा अधिकृत झलकराज जोशीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, "प्रथम सेवा विन्दुको रूपमा सेवा दिई हालसम्म बोर्डको सेवा प्रवाहमा पुर्याउनु भएको योगदानका लागि स्वास्थ्य बीमा बोर्ड धन्यवाद ज्ञापन गर्दछ।"

साथै, यो सूचना सूचना प्रविधि शाखा, सबै प्रदेश शाखा र जिल्ला सम्पर्क कार्यालयहरूमा समेत जानकारीका लागि पठाइएको छ। 

Open photo