प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

वीरगन्जको बाल सुधार गृहमा झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते

२०८० भाद्र २७, बुधबार ०६:०९ बजे

काठमाडौँ – वीरगन्जस्थित बाल सुधार गृहमा मंगलबार बेलुका दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् । बुधबार बिहान स्थिति सामान्य भए पनि प्रहरीहरूको सुरक्षा सतर्कता कडा बनाएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए ।

उक्त बालसुधार गृहमा भक्तपुरबाट लगेकासहित १४९ जना कैदी बन्दी रहेका छन् । केही समयअघि भक्तपुर बाल सुधार गृहमा झडप भएपछि केही कैदी बन्दी वीरगन्ज लगिएको थियो । भक्तपुरबाट गएका कैदी बन्दी र पहिलादेखि वीरगन्जमै रहेका केदीबन्दीबीच पटक पटक झडप र विवाद हुने गरेको बुझिएको छ ।

भक्तपुरबाट गएका कैदीहरूले त्यहाँका नाइकेमाथि आक्रमण गर्नुका साथै बाल सुधार गृहमा समेत तोडफोड र प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।