प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अव्यवस्थित द्रुत मार्ग निर्माणका कारण जोखिम बढ्यो

२०७९ माघ ६, शुक्रबार ०४:०१ बजे

हेटौंडा – काठमाडौँलाई तराईसँग जोड्ने द्रुत मार्ग आयोजना निर्माणका क्रममा निस्कने ढुङ्गामाटो (थिग्रो) का कारण मकवानपुरको बकैया गाउँपालिकाका बस्तीहरू वर्षायाममा जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ ।

द्रुत मार्ग आयोजनाअन्तर्गत सडक र सुरुङ मार्ग निर्माण गर्ने क्रममा निस्कने ढुङ्गा, माटोलगायतको उचित व्यवस्थापन आयोजना र निर्माण कम्पनीले नगर्दा पालिकामा रहेका खोलानाला तटीय क्षेत्रका बस्तीहरू जोखिममा परी स्थानीयवासी विस्थापित हुने अवस्था देखिएको हो ।

पछिल्लो समयमा आयोजनाअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–१२, ठिङ्गनस्थित कोलखोपमा निर्माणाधीन सुरुङको काम गर्ने क्रममा निस्कने थिग्रो जथाभावी फाल्ने र व्यवस्थापन नगर्दा स्थानीय खोला नदीमा पुगेर खोला, नदीको सतह बढ्दै गएको छ ।

यसले गर्दा बखीको भेल बस्तीमा प्रवेश गर्ने र बस्ती नै बगाउने जोखिम बढेको भन्दै स्थानीयवासी र जनप्रतिनिधिले आयोजना र निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।

निजगढ काठमाडौं द्रुत मार्ग आयोजनाको मकवानपुरतर्फ निर्माणका क्रममा निस्कने थिग्रो स्थानीय खोलामा पुगेर सतह बढ्दै जाँदा पालिकाका वडा नं.४, ५, ६ र ७ का बस्ती प्रभावित हुने भएका छन् ।

पालिकाका अध्यक्ष धर्मराज लामिछानेले स्थानीय बासिन्दाबाट वर्षायाममा बस्ती जोखिममा पर्ने र विस्थापित हुने अवस्था आउने गुनासो गर्ने क्रम बढेको बताए। सुरुङ खन्दा प्रयोग भएको रसायनको व्यवस्थापन नहुँदा स्थानीय खोलामा मिसिएर माछालगायत जलचरसमेत मर्दै गएकाले सङ्कटमा परेको र नासिने जोखिम बढेको छ।

पालिकाका वडा नं. १२, ११, ४, ५ लगायतमा पर्ने खोला धमिलो पानी र रसायनका कारण प्रदूषित बन्दै गएको स्थानीय तहका जनप्रतिनिधिहरूको भनाइ छ । अध्यक्ष लामिछानेले भने, “रसायनसहितको पानी राख्न छुट्टै पोखरी बनाएर शुद्धीकरणपछि खोलामा मिसाउने व्यवस्था गर्न माग गरेका छौं ।”

उनले आयोजना निर्माणको जिम्मा लिएको नेपाली सेनाका अधिकारीहरू र सुरुङ खन्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनीका अधिकारीहरूलाई समस्या थप विकराल भएर वर्षायाममा खोलाको सतह बढ्दै बस्ती जोखिममा पर्ने र स्थानीय विस्थापित हुनुपूर्व नै थिग्रो र रसायनको उचित व्यवस्थापन गरी समस्या समाधान गर्न जनप्रतिनिधिसहितको टोलीले ध्यानाकर्षण गराएको जानकारी गराए । गोरखापत्र दैनिकबाट