हेटौंडा – विभागीय टोली सशस्त्र प्रहरी(एपिएफ) फुटबल क्लबले छैठौं ‘स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप’ प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा शनिबार भएको फाइनलमा टाइब्रेकरमा एनआरटीलाई ४–५ गोलअन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा खेलेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको हो । ट्राईब्रेकरमा एपिएफले बाजी मार्यो ।एपिएफ पहिलो पटक मकवानपुर गोल्डकपको च्याम्पियन बनेको हो । एपिएफले यसअघि मकवानपुर गोल्डकपमा सहभागिता जनाएपनि उपाधि जित्न सकेको थिएन । प्रतियोगिताको पहिलो सिजन थ्रिस्टार, देस्रो मकवानपुर–११ तेस्रो र चौथो त्रिभूवन आर्मी क्लब जितेको थियो भने पाँचौं सिजन मनाङ–मर्स्याङ्दी क्लबले जितेको थियो ।
टाइब्रेकरमामा एपीएफका एनिसेट, कुलदीप कार्की, सुमन श्रेष्ठ, मणि लामा र फोफनाले गोल गर्दा दीपेश धिमाल र बुद्धिमान राईको प्रहार गोल हुन सकेन । त्यस्तै एनआरटीका जय गुरुङ, प्रिसो, विवेक गुरुङ र मोहित गुरुङले मात्रै गोल गर्न सके ।
एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले एनआरटीका रनदीप पौडेलको प्रहार रोक्दै च्याम्पियनका नायक बने । उनी फाइनल खेलका म्यानअफ दी म्याच बने । उनले नगद १० हजार प्राप्त गरे ।
उपाधि विजेता एपिएफले उपाधिसहित १५ लाख प्राप्त गर्दा एनआरटीले १० लाख रुपैयाँमा चित्त बुझायो ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका फरवार्ड अनिष महर्जन घोषित भए । उनले बुलेट मोटरसाइकल प्राप्त गरे ।
विधागततर्फ एपिएफका कुलदिप कार्की उत्कृष्ट डिफेन्डर, बेष्ट फरवार्ड एपिएफकै जोन ग्लोरी, उत्कृष्ट गोलरक्षक एपिएफकै एन्जल श्रेष्ठ, बेष्ट प्रशिक्षक एपिएफकै सुमन श्रेष्ठ घोषित हुँदा एनआरटीका जय गुरुङ उत्कृष्ट मिडफिल्डर चुनिए । उनीहरुले जनही नगद २५–२५ हजार प्राप्त गरे ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको विजेता र उपविजेता खेलाडीहरुलाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतको अथितिहरुले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहेको थियो ।