हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ मा सञ्चालनमा रहेको शिवम् सिमेन्टले विगत १५ बर्षदेखि मकवानपुरगढी गाउँपालिका–७ र ८ मा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन् गरिरहेको छ ।
चुनढुङ्गा उत्खनन् गर्दा निस्किएका ओभरवडेन आफैले व्यवस्थापन गर्नुपर्ने सम्झौता उल्लेख छ । तर, सम्झौतालाई लत्याउँदै उद्योगले प्राकृतिक स्रोतको क्षतविक्षत गरेर स्थानीयबासीलाई असर पुग्ने गरी ओभरवडेन जथाभावी फालेको छ ।
उद्योगको राष्ट्रिय वनक्षेत्रमा जरुवा, खोटार, कलवन र चपकी गरी चार वटामा चुनढुङ्गा खानी सञ्चालनमा छन् । त्यहाँबाट निस्किएका ओभरवडेन अधिकांश सामरी खोलाको सहायक खोल्चाहरुमा खसालिएको छ भने केही फास्टट्र्याक निर्माणमा समस्या हुने गरी बकैया गाउँपालिकाको सिमात खोलाको सहायक खोल्चामा फ्यालिएको छ ।
शिवमले मनमौजी हिसाबले ओभरवडेन फाल्दा पाखाका बोटविरुवा मासिएका छन् भने जडिवुट्टीहरु लोप हुँदै गएका छन् । त्यस्तै ओभर वडेनले खोल्चा खाल्ची पुरिदा करिब सय/दुई सय फिट अग्ला झरनाहरु लोप भएको र पानीको स्रोत पनि सुक्दै गएको स्थानीय सानुकान्छा तामाङ्ग बताउँछन् ।
बर्षायासमा अव्यवस्थित ओभरवडेन बगेर आउँदा खोलाको सतह बढेर वस्तीकटानसंगै सिचाँईमा समस्या भएको र शुद्ध खानेपानी समेत पाईन छाडेको स्थानीय राजेश नेपाल बताउँछन् । त्यस्तै खानेपानी विस्तारको पाइप लाइन क्षति हुनुका साथै तटिय क्षेत्रका गाउँबस्तीका घर, विद्यालय, पाटीपौवा, मढमन्दिर, स्वास्थ्य चौकी, पानीघट्टाहरु बाढी र पहिरोको जोखीमा रहेको नेपालले बताए ।

मकवानपुरगढी–७ को पाङटोल, गीताधर्म, आम्बोडे, भण्डारे, किटीनी, न्यौपानेटार, भुडेदमार, सातकन्या, कोलदमार, मच्छेडाँडा, वतासेडाँडा, हुलाक दमार, नरसिंडाँडा, जिमर गेबडाडा, थासाटोल लगायत स्थानहरु खानी प्रभावित क्षेत्र हुन् । त्यस्तै खानीको कारण मकवानपुरगढीको वडा नम्बर २,३,४,५,६ को सामरी तटका स्थानीय प्रभावित छन् भने वडा नम्बर ८ का पनि प्रभावित छन् ।
खानीका कारण वडा नं.७ र ८ का स्थानीयहरु बाह्रै महिना विभिन्न खाले समस्या खेप्नुपर्छ भने अन्य क्षेत्रका स्थानीयहरुले बर्षायाममा खोतीयोग्य जमिन र बस्ती कटानको समस्या बर्षेनी खेप्पदै आएका छन् । हिउँदमा धुलोमैलो, सासफेर्दै पिच्छे र ध्वनी प्रदुषण, होस हुँदासम्म झेल्नुपर्छ ।

बिना स्वीकृती बषौैँ उत्खनन्
उद्योगले सो क्षेत्रमा करिब १० बर्ष भन्दा बढी समय विना स्वीकृत खानी उत्खनन् गरेको पाईएको छ । स्थानीयका अनुसार २०६३/०६४ सालदेखि त्यस क्षेत्रमा चुनढुङ्गा उत्खनन् गरेको थियो । भुगर्व विभागले उपलब्ध गराएको सम्झौता अनुसार उत्खनन् स्वीकृती २०७१, २०७४, २०७८ मा स्वीकृती लिएको पाईएको स्थानीयहरु बताउँछन् । ०७१ र ०७८ मा भएको सम्झौताको अवधि १५/१५ बर्ष छ भने ०७४ मा भएको ९ बर्षको मात्रै रहेको बताईएको छ ।

शिवमको कालाकर्तुतले स्थानीय आजित
सुरुदेखि नै उत्खनन् व्यवस्थित थिएन । उद्योगले आए रघुनन्दन मारुको, गए मकवानपुरगढीबासीको अर्थात नेपाल सरकारको भन्दै ओभरवडेन खोचमा हुत्यायो । शिवमले यसरी हुत्याएको १५ बर्षबढी भयो, साक्षी मकवानपुरगढीबासी छन् ।
बर्खायाममा ओभरवडेन लिएर आएको भेलले गतिसंगै बाईरोडको बाटोमा डाइभरले गाडीको स्टेरीङ्ग घुमाए झै सामरी खोला घुम्छ । सामरी तटमा रहेको स्थानीय गरिब किसानको खेतियोग्य जमिन बर्षेनी तहसनहस हुने गरेको छ । पहेलपुर सुन झै झुल्ने धान खेत बगर भएको देख्ने मकवानपुरगढीबासी नै हुन् ।

पहिले उद्योगले स्थानीय सरकार नभएको मौका छोपेर प्रकृतिको दोहन गर्नु गर्यो । अहिले एकपछि अर्को समस्याको चाङ्ग लागेको छ । कुरा विं.सं.२०७४ पछिको हो, विभिन्न माग सहित पीडितहरु आन्दोलनमा उत्रिए । तिग्रे भत्ता बाड्ने शिवमको अगाडि पीडितको केहि लागेन ।
विं.सं.२०७२,०७३,०७४,०७७, ०७८ मा स्थानीय जनप्रतिनिधि र प्रशासनको उपस्थितीमा स्थानीय र शिवम् सिमेन्ट उद्योगबीच भएको सम्झौता कागजमै सिमित भए । बस्ती संरक्षणका लागि केही काम भए । भएका काम धेरै गुणस्तरहिन भए । सामाजिक उत्तरदायित्वको काम शिवम् निकट व्यक्तिहरुको कब्जामै हुँदा शिवमबाट भएका कामको स्थानीय सरकारसंग लेखाजोखा समेत छैन ।
धोकेबाज शिवमसंग छैन विश्वास
स्थानीय र शिवमबीच पटकपटक भएको सम्झौता कार्यान्वयन नभएपछि पीडितहरु फेरि ११ बुँदे माग सहित आन्दोलित भए । माघ २२ गते वडा नम्बर ७ का वडाध्यक्ष शुर्य बहादुर रुम्बाको अध्यक्षमा भएको वार्ताले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार गर्ने र स्थानीयको मागलाई बुँदा गत रुपमा सम्बोधन गर्ने सहमति भएको छ ।

विगत १५ बर्षदेखि पीडितलाई झुक्याउँदै आएको शिवमले माग सम्बोधन गर्छ भन्ने, ‘आश मात्रै छ, जनतालाई विश्वास भने छैन ।’ खानी पीडित मंगलमान स्याङ्तान दुखे । ‘हाम्रो मागको विषयमा पटकपटक सम्झौता भएकै हो । शिवमले सम्बोधन गरेको होइन्’ स्याङ्तानले भने, फेरि पनि सम्झौता तोडियो भने, ‘शिवममा धार्ना दिने कि कानुनी बाटो खोज्ने हो । अरु विकल्प छैन ।’
माग सम्बोधन गराउने जिम्मा हाम्रोः जनप्रतिनिधि
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुर्य बहादुर रुम्बाले शिवमसंग भएको सम्झौता कार्यान्वयन गराएर स्थानीयको माग सम्बोधन गर्ने जिम्मा जनप्रतिनिधिहरु भएको बताएका छन् । त्यस्तै वडासदस्य प्रतिमान रुम्बाले प्रतिवेदन तयार भएपछि तत्काल सम्बोधन हुने मागको माग सुरु गरिने र समय लाग्नेलाई प्रक्रिया अनुसार अगाडि बढाईने बताए ।
हेर्नुहोस भिडियोमा
सम्बन्धित समाचारहरु
चुनढुङ्गा खानी क्षेत्रमा शिवम सिमेन्ट उद्योगको दादागिरी, माग पुरा गर्न पीडितको अल्टिमेटम
शिवमको लगानी, जनप्रतिनिधिको काम, महिना दिन नबित्दै स्ल्याव भयो झ्वाम
मकवानपुरगढीमा गठबन्धनको जितसंगै खानीदेखि खोलासम्म ब्यापक दोहन हुने आशंका
शिवम सिमेन्ट उद्योगको सेटिङमा अवैध काम, क–कसले पाए कति दाम ?
टिपर ओभरलोड नबोक्न मान्दैनन्, मकवानपुरका ट्राफिक बोल्नै मान्दैन
शिवम र रिद्धिसिद्धिको रझाई: औंसी–पुर्णे चेकिङ्ग, हुँदैन कारवाही क–कस्को छ सेटिङ्ग ?