प्रहर खबर
 २०८३ भाद्र १८, बिहीवार    

हुम्लासहित कर्णालीका उच्च जिल्लामा भारी हिमपात, जनजीवन प्रभावित

२०८१ पौष १३, शनिबार ०८:५२ बजे

कर्णाली – हिमाली जिल्ला हुम्लासहित कर्णाली प्रदेशका उच्च भेगमा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। शुक्रबार दिउँसो मौसम बदली भई बाक्लो बादल लागेपछि रातिदेखि हिमपात सुरु भएको हो।

शनिबार बिहान हुम्लाको सदरमुकाम सिमकोटमा चार इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको छ। यो सिजनको तेस्रो पटकको हिमपातले किसानहरूलाई राहत पुगेको छ। स्थानीय गौगोरा बोहराका अनुसार हिउँ परेसँगै जेठासी बालीको उत्पादन राम्रो हुने आशा गरिएको छ।

तर, भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ। सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका बासिन्दा चिसोका कारण घर बाहिर निस्कन सकेका छैनन्। तापक्रम माइनसमा झरेको हुँदा जनजीवन थप कष्टकर बनेको छ।

हिमपातका कारण हुम्लामा अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तर हिमपातले उडान सम्भव नभएको जानकारी स्थानीय विमानस्थल प्रशासनले दिएको छ।

यस हिमपातले किसानलाई राहत भए पनि जनजीवन भने प्रभावित बनाएको छ ।