हेटौंडा – राज्यको प्राथमिकता प्राप्त सडक कान्तिलोकपथ खण्डको करिब ६ किलोमिटर क्षेत्रमा साइकल लेन निर्माण गर्न प्रस्ताव गरिएको छ । हेटौंडाको सानोपोखरादेखि चुच्चेखोलाको गैरीगाउँसम्म कान्तिलोकपथको दायाँबायाँ सडकपेटीमा साइकल लेन निर्माण गर्न माग गरिएको हो ।
हिमालयन राइडर्स सोसाइटी मकवानपुरका पदाधिकारीले प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति तथा मकवानपुरे सांसद दीपकबहादुर सिंहसमक्ष साइकल लेन निर्माण गर्न प्रस्ताव गरेका हुन् । सानोपोखरा चोकदेखि गैरीगाउँसम्म सडकको दायाँबायाँ ब्यवस्थित ढलसहितको पेटी निर्माण गर्ने योजनामा साइकल लेन राख्ने प्रस्ताव गरिएको सोसाइटीका कार्यबाहक अध्यक्ष राजु थापामगरले बताए । कान्तिलोकपथको ६ किमि सडकखण्डलाई सडक पेटी, ढक्कनसहितको नाला ब्यवस्थापन गर्ने कार्यको बोलपत्र आब्हान गर्ने तयारी भइरहेको जानकारीमा आएकोले यो योजनामा साइकल लेन समाबेश गर्न आग्रह गरिएको बताइएको छ ।

सडक पेटी निर्माण गर्ने क्रममा साइकल लेन समाबेश गर्दा खासै लागत बृद्धि नहुने र सडक दुर्घटना पनि न्यून हुने भन्दै सोसाइटीले पूर्वाधार विकास समितिका सभापति सांसद सिंहसमक्ष प्रस्ताव राखेको सोसाइटीका अध्यक्ष थापामगरले जानकारी दिए । सडकको दुबैतर्फ साइकल लेन निर्माण गर्दा नेपालकै नमूना साइकल लेन बन्ने र हेटौंडालाई साइकल सहरको रुपमा पहिचान दिन सकिने सोसाइटीको धारणा छ । ‘हामीले माननीयज्यूसमक्ष साइकल लेन निर्माण गर्ने प्रस्ताव राखेका छौं, यसमा माननीयज्यूको पनि ध्यानाकर्षण भएको छ’ सोसाइटीका अध्यक्ष थापामगरले भने ।
सडकको दुबैतर्फ साइकल लेन निर्माण गर्ने र नगरक्षेत्रमा एउटा साइकल एकेडेमी स्थापना गर्ने विषयमा पूर्वाधार विकास समिति सभापति सांसद सिंहसमक्ष प्रस्ताव राखिएको सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले बताए । सोमबार भएको भेटमा यस्तो प्रस्ताव राखिएको आचार्यले जानकारी दिएका छन् । सडकको दुबैतर्फ ढल सहितको पेटी निर्माण गर्दा पैदलयात्रुलाई र साइकल लेन बिस्तार गर्दा सडक अपा·मैत्री पनि हुने भएकोले यस्तो प्रस्ताव राखिएको सोसाइटीले जनाएको छ ।