हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.४ कन्तिराजपथस्थित चन्दन स्विट्स एण्ड बेकरी र हेटौंडा–२ संगम चोकस्थित मोहन मिठाई पसलमा अस्वस्थकर खाने कुरा उत्पादन गरी भण्डारण तथा बिक्री वितरण गरिएको पाईएको छ ।
सोमबार अनुगमनको क्रममा अत्याधिक फोहोर गरी खाद्य पदार्थको अस्वस्थकर उत्पादन, भण्डारण र बिक्री वितरण गरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाकी सुचना अधिकारी प्रगती अधिकारीले जानकारी दिइन् । उक्त पसलहरुमा सार्वजनिक सूचना टाँस गरिएको र अर्को सूचना नभएसम्म खाद्य पदार्थको उत्पादन तथा बिक्री रोक्का गरिएको उनले बताइन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर, हेटौंडा उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, मकवानपुरको सहकार्यमा भदौ ४ गते सोमबार हेटौंडाको ६ अनुगमन गरिएको थियो ।
जसमा दुई वटामा जनस्वास्थ्यलाई असर पुग्ने गरी खानेकुरा उत्पादन भएको परीक्षणले देखिएपछि उत्पादन तथा विक्री रोक्नु परेको बताईएको छ । हेटौंडा–१ स्थित चुनिया थकाली होटेल र अन्नपुर्ण भोजनालय, हेटौंडा–२ स्थित जनप्रिय भोजनालय र ओसिन रेस्ट हाउसमा सरसफाई तथा खाद्य पदार्थको भण्डारणलाई व्यवस्थित गर्न निर्देशन दिईएको सुचना खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
खाद्य प्रविधिले यसअघि भदौ ३ गते आइतरबार हेटौंडा बजारको ७ वटा होटल, रेस्टुरेन्ट तथा मिष्ठान्न भण्डारमा अनुगमन गर्दा हेटौंडा–१० स्थित जय शम्भु मिष्ठान्न भण्डारमा स्वास्थ्यको दृष्टिकोणले असर पर्ने गरी उत्पादन तथा बिक्री भएको पाईएको थियो । त्यहाँ सुचना टास गरेर अर्को सुचना नआएसम्मका लागि विक्री वितरणमा रोक लगाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाले जनाएको छ ।
हेटौंडा–१० को राजधानी स्वीट्स, हेटौंडा–१० कै न्यू स्वीट एण्ड चाट हाउस, हेटौंडा–१ को श्रेष्ठ होटल, हेटौंडा–१ को समोसा हाउस, हेटौंडा–१ कै युनिक स्वीट एन्ड चाट हाउस र हेटौंडा–२ स्थित लोकप्रिय भोजनालयमा सरसफाई र भण्डारण सुधारका लागि निर्देशन दिईएको खाद्य प्रविधि तथा गुण नियन्त्रणले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।