प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

युनिलिभर नेपालको नाफा ३० प्रतिशत बृद्धि

२०८१ बैशाख २९, शनिबार ०८:३३ बजे

हेटौंडा – हेटौंडा–३ बसामाडीमा रहेको बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा ४८ करोड ६१ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको यो अवधिको तुलनामा ३०.४६ प्रतिशतले धेरै हो ।

गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ खुदनाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको बिक्रीआय बढेर खर्च घट्दा नाफा बढेको हो । गर्मी लागेसँगै उपभोक्ताको मागमा बढ्दै जाँदा सौन्दर्य सामग्रीको दैनिक उपभोग बढेपछि कम्पनीको ब्यापार बढेको छ । चैतसम्ममा कम्पनीको कुल आय २ अर्ब २ करोड ३० लाखबाट २.२६% बढेर २ अर्ब ६ करोड ८७ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको बिक्री आम्दानी पनि १.५२% प्रतिशतले बढेर १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँमा पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९६ करोड ५७ लाख आम्दानी गरेको थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५ करोड ७२ लाख रुपैयाँ अन्य आम्दानी गरेको कम्पनीको चालु आवको यसै अवधिमा २८ प्रतिशत बढेर ७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ९ करोड २१ लाख रहेको कम्पनीको रिटेन्ड अर्निङ १४.९० प्रतिशतले बढेर ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ३ अर्ब ७० करोड ७७ लाख रुपैयाँ थियो । समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७०३ रुपैयाँ ७३ पैसा छ । अघिल्लो आवको यो अवधिमा कम्पनीको ईपीएस ५३९ रुपैयाँ ४१ पैसा थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ४१२५ रुपैयाँबाट बढेर ४७२५ रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपाली सेयरबजारमा सुचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै सेयरमूलय भएको कम्पनी हो । चालु आवको तेस्रो त्रैमासमा कम्पनीको अन्तिम मूल्य ४० हजार ४५० रुपैयाँ रहेको छ भने अधिकतम सेयर मूल्य ४२ हजार ३०० रुपैयाँ पुगेको थियो । चालु आवको तेस्रो त्रैमासमा कम्पनीका अधिकांश शीर्षकको आम्दानी बढेको छ भने खर्चमा कमी आएको छ । समीक्षा अवधिमा कम्पनीले मुद्दती निक्षेपमा १४९ प्रतिशतले लगानी बढाएर १ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ भने नगद मौज्दातमा ८७ करोड १४ रुपैयाँ राखेको छ ।

यस्तै कम्पनीको कुल खर्च पनि ६.११ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यो अवधिमा कम्पनीको खर्च १ अर्ब ५४ करोड ८४ हजार रुपैयाँ थियो । युनिलिभरले लक्स, लाइफब्वाय, रिन, ह्वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेण्ट, क्लोजअपलगायत ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ ।

लन्डनमा मुख्यालय रहेको कम्पनी युनिलिभरले नेपालमा युनिलिभर इन्डियामार्फत ८० प्रतिशत सेयर लगानी गरेको छ । युनिलिभरले लगानीकर्तालाई आकर्षक लाभांश पनि दिँदै आइरहेको छ । कम्पनीमा हिन्दुस्थान युनिलिभर मुम्बईको ७ लाख ३६ हजार ५६० कित्ता, सिवक्रिम होल्डिङ प्रालि नेपालको ४६ हजार ३५ कित्ता र सर्वसाधारणमा १ लाख ३८ हजार १०५ कित्ता सेयर रहेको छ । कम्पनीले गत आव २०७९÷८० को मुनाफाबाट सेयरधनीलाई हालसम्मकै उच्चदरमा लाभांश वितरण गर्ने घोषणा गरेको थियो । प्रतिसेयर १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।