हेटौंडा – हेटौंडामा गत जेठमा सम्पन्न चौथो स्थानीय तह सहिद स्मृती गोल्डकपको आयव्यय करिब ७ महिनापछि सार्वजनिक गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो ।
प्रतियोगिताका संयोजक प्रताप विष्टद्वारा सार्वजनिक विवरण अनुसार १ करोड ३१ लाख ५६ हजार आम्दानीमा १ करोड ९ लाख ६७ हजार खर्च गरेर २१ लाख ३६ हजार बचत भएको छ ।
आयतर्फ बागमती प्रदेश खेलकुद विकास समितिबाट ४१ लाख ९१ हजार, गाउँपालिकाबाट ३३ लाख ७० हजार, हेटौंडा उपमहानगरबाट २४ लाख १६ हजार, अन्य आम्दानी २ लाख ७६ हजार, गेट टिकटबाट ३३ लाख ७० हजार र हेटौंडा स्कुल अफ म्यानेजम्यान्टबाट ६ लाख ९८ हजारको बुलेट बाईक प्राप्त(अम्दानी) भएको थियो ।
त्यस्तै व्ययतर्फ आयोजकले अतिथि सत्कारमा ७ लाख ८३ हजार र चिया पानी, चिसो तथा नास्तामा ३ लाख १० हजार खर्च गरेको छ । रेफ्रीमा ६ लाख ९९ हजार, प्रचारप्रसारमा ५ लाख ४ हजार, व्यानर र गेटमा ३ लाख ९२ हजार, तलब तथा भक्तामा १ लाख खर्च हुँदा १ लाख २६ हजारको आयोजकका लागि पोशाक खरिद गरेको छ ।
आयव्ययको पुरा विवरण

त्यसैगरी खेलकुद सामाग्री ५० हजार, सुरक्षामा १ लाख ३९ हजार, गोल्डकप तयारीमा ३ लाख २५ हजार, चौर व्यवस्थापनमा ५ लाख ९४ हजार, उद्घाटन र समापनमा १ लाख ९९ हजार, यातायातमा १ लाख, खेलाडी दैनिक ज्यालामा ३३ लाख ३० हजार खर्च भएको छ भने २८ लाख १ हजारको पुरस्कार वितरण गरेको छ ।
मेडिकल दैनिक ज्यालामा साँढे ४२ हजार, अन्यमा १ लाख ६० हजार, मसलन्दमा १ लाख ७१ हजार र अफिसमा १ लाख ३७ हजार खर्च भएको आयव्यय विवरणमा उल्लेख छ ।
प्रतियोगिता सञ्चालनबाट बचत भएको २१ लाख ३६ हजार ४०१ रुपैयाँ बचत भएको मध्ये २ लाख ५१ हजार उठ्न बाँकी रहेको प्रतियोगिता संयोजक विष्टले बताए । गोल्डकप सञ्चालन गरिएको पिप्ले–क्याम्पा रंगशालालाई बचत भएको रकमबाट ५ लाख सहयोग गरिने उनले बताए ।

दोस्रो संस्करणदेखि चौथोसम्म गोल्डकपको संयोजकको भुमिका निर्वाह गरेका विष्टले संयोजकको भुमिकामा नरहने बताए । आगामी गोल्डकप सञ्चालन गर्न नयाँलाई अवसर दिने र सहयोग गर्ने प्रतिवद्धता पनि ब्यक्त गरे । तीन वटा गोल्डकप सफलतापूर्वक सम्पन्न गरेका विष्टलाई जिल्ला फुटबल संघ मकवानपुरले मायोको चिनो समेत वितरण गरेको थियो ।
गत जेठ ३० गते सम्पन्न चौथो स्थानीय तह सहित स्मृती गोल्डकपको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेको थियो भने घरेलु टोली बिजय युथ क्लब उपाबिजेता भएको थियो । प्रतियोगितामा सर्वोउत्कृष्ट हुन सफल मकवानपुरे फुटबलर असोक बराललाई बुलेट बाईक प्रदान गरिएको थियो ।
प्रतियोगितालाई निरन्तरता दिदै पाँचौ स्थानीय तह सहिद स्मृती गोल्डकप आउदो फागुन महिनामा आयोजना गरिने नेपाल फुटबल संघका केन्दीय सदस्य तथा मकवानपुरका अध्यक्ष टिका लामाले जानकारी दिए । कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, जिल्ला फुटबल संघ मकवानपुरका महासचिव छवि सुवेदी, सचिव सुनिल लोप्चन, कोषध्यक्ष मृत लुङवा लगायत उपस्थिती रहेको थियो ।