हेटौंडा – हेटौंडामा सम्पन्न केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल(एपीएफ) क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा न्यू डाइमण्ड क्लबलाई पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
हेटौंडा–१० स्थित बृहत खेलकुद तथा व्यापार महोत्सवको कोणमा एपीएफले न्यू डाइमण्डलाई ३–१ को सेटमा पराजित गर्न सफल भयो । न्यू डाइमण्डविरुद्ध आक्रमक खेल प्रदर्शन गरेको एपीएफले १९–२५, २०–२५, १७–२५ र २३–२५ को सहज नतिजा निकालेको हो ।
विजेता भएसँगै एपीएफले २ लाख रुपैयाँ सहित शिल्ड हात पारेको छ भने उपविजेता समाजसेवाले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना घोषित भइन् । उनले नगद १५ हजार प्राप्त गरिन् ।
त्यस्तै विधातर्फ न्यू डाइमण्डकी जेनिसा विश्वकर्मा उत्कृष्ट स्पाइकर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, डिफेण्डर सलिना श्रेष्ठ र सेटर प्रगती नाथ घोषित भए । उत्कृष्ट प्रशिक्षक विजय केसी हुँदा उत्कृष्ट सर्भिसर एपीएफकी सरस्वती चौधरी घोषित भइन् । विधागत उत्कृष्ट हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले ५०÷५० हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताव विष्ट, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौला, वडा अध्यक्षहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ५ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको थियो । एपीएफ समूह विजेता र न्यू डाइमण्ड समूह उपविजेता बन्दै फाइनलमा पुगेको थियो ।