काठमाडौं – भ्रमण भिषामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ।
उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विमानस्थलको अध्यागमन कार्यालयले शंका लागेर पठाइएका उनीहरूमाथि अनुसन्धान गर्दा सो तथ्य खुलेको जानकारी दिए।
विमानस्थल कार्यालयले गत असोज २९ गते ती व्यक्तिका कागजातहरू पठाएको थियो। उक्त कागजातमध्ये केही उच्च माविका शैक्षिक प्रमाणपत्र नक्कली देखिएकामा उक्त कागजात बनाउने उदयपुर घर भई पेप्सीकोला बस्ने आशिष श्रेष्ठ र काभ्रेपलाञ्चोकको पाँचखाल घई भई सिनामंगल बस्ने २८ वर्षीय जीवराज तामाङ रहेका पाइएको छ।
उनीहरूले पीडितबाट ५ लाख लिई विमानस्थलमा सेटिङ मिलाई विदेश पठाउन खोजेको भेटिएको पनि प्रहरीले जनाएको छ।
पक्राउपछि उनीहरूसँग खानतलासी गर्दा मोबाइल दुई थान, रु ९५ हजार र जेम्स दामदाली नामको राहदानीसमेत फेला परेको छ।
रेग्मीका अनुसार विमानस्थलबाट फर्काएका अर्का व्यक्तिको कागजात अध्ययन गर्दा राहुलकुमार मण्डलको नामको कक्षा १२ को ‘ट्रान्सक्रिप्ट’ नक्कली फेला परेको छ।
उक्त कागजात बनाउने काठमाडौँ बस्ने साइरस विसङ्खेलाई पनि पक्राउ परी आवश्यक अनुसन्धान थालिएको छ।