प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मानवसेवा आश्रमको सप्ताहव्यापी कार्यक्रम भोलीबाट सुरु हुने

२०७९ भाद्र ६, सोमबार १२:५२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा–९ लामसुरेधापमा रहेको मानवसेवा आश्रम यही भाद्र १३ गते ११ औँ बर्षमा प्रवेश गर्दैछ । मानवीय सेवामा एक दशक पूरा भई ११ औं वर्षमा प्रवेश गरेको अवसरमा आश्रमले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।

सोमबार आश्रममा पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष रामजी अधिकारीले भोली (मंगलबार) बाट आश्रमको दशौँ बार्षिकोत्सव (स्थापना दिवस) को सप्ताहव्यापी कार्यक्रमहरू शुरु हुने जानकारी दिए । सप्ताहव्यापी कार्याक्रम भोली भाद्र ७ गते हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उनले बताए । 

भाद्र ८ गते वृक्षारोपण कार्यक्रम, भाद्र ९ गते बिहान ७ बजे मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको धापटोल सरसफाई कार्यक्रम र दिउँसो ३ बजे तीज विशेष कार्यक्रम तय गरिएको अध्यक्ष अधिकारीले बताए । त्यस्तै भाद्र १० गते बिहान ७ बजेदेखि दिनभर सडकआश्रित मानवहरूको वृहत उद्धार गरिने, भाद्र ११ गते बिहान ८ बजे मुठ्ठीदान कार्यक्रम र ४ बजे कुशे औँशी विशेष कार्यक्रम रहेको अधिकारीले बताए ।

यसैगरी भाद्र १२ गते बेलुका ४ बजे दीप प्रज्वलन तथा भजन सन्ध्या कार्यक्रम हुनेछ । भाद्र १३ गते दिउँसो २ बजेदेखि मानवसेवा आश्रमको दशौँ बार्षिकोत्सव कार्यक्रम शुरु हुने अध्यक्ष अधिकारीले बताए । कार्यक्रमहरू मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडा–९ को आफ्नै प्राङ्गणमा हुने उनले बताए ।

२०६९ सालमा स्थापना मानवसेवा आश्रमले सातै प्रदेशको १९ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । त्यस्तै ७७ वटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, औषधोपचार, लालनपालन, पारिवारिक पुनर्मिलन र मानवता प्रवर्द्दनको लागि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

परोपकारी एवं मानवताप्रेमी मनहरुको हृदयमा बस्न सक्नु र नेपाल सरकारलाई सहयोगापेक्षी सडकआश्रित मानवहरूको विषयमा आत्मबोध गराई तीनै तहको सरकारको नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडकआश्रित मानवहरूको संरक्षणका लागि सरकारलाई दायित्वबोध गराउन सक्नु हाम्रो लागि गौरवको विषय रहेको अध्यक्ष अधिकारीले बताए । मानवता प्रवर्द्दनको लागि मानवसेवा आश्रमको महत्वपुर्ण योगदान रहेको उनको भनाई छ ।

आश्रमको मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत २०८० सालसम्म देशभर आश्रमको भवन निर्माण कार्य सम्पन्न गरी ८१ मा सडक मानवहरुको बारेमा बृहत अन्तरक्रिया कार्यक्रमहरु गर्दै सडक मानवहरुलाई व्यवस्थापन गर्दै २०८२ मा देशलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको अधिकारीले बताए ।