प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको गहना चोरीमा संलग्न ३ जना पक्राउ

२०८२ जेठ ३१, शुक्रबार ०६:४७ बजे

 मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ स्थित रामधुनी चोकमा एक महिलाको घरबाट चोरी भएको सुनको गहना प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन् ।

उषा परियारको घरबाट सुनको एक थान तिलहरी चोरी भएको भन्ने जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरी चौकी ठुलोदमारबाट खटिएको टोलीले घटनामा संलग्न तीन जनालाई चोरी गरिएको गहनासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ऐनापुर बस्ने २४ वर्षीय उपेन्द्र बहादुर विश्वकर्मा, ३० वर्षीय संजिव गोतामे र वडा नं. ४ का २५ वर्षीय सन्त बहादुर बराईली रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालत मकवानपुर, हेटौंडाबाट पाँच दिनको म्याद अनुमति लिई चोरी तथा डाँका सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्नता पुष्टि गर्ने प्रमाणसहित अनुसन्धानलाई तीव्रता दिइएको छ र आवश्यकता अनुसार थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ  ।