वीरगंज – पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१८ भवानीपुरस्थित सिताराम चोकबाट अवैध लागूऔषध गाँजा १६० किलोग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति भएको यो कारबाहीमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र चितवन, राप्ती नगरपालिका–३ का २० वर्षीय रोनाल विश्वकर्मा पक्राउ परेका हुन्।
पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकको हुडमा फल्स बनाइ लुकाइछिपाई राखिएको अवस्थामा १६ वटा पोकामा प्लास्टिकले बेरिएको गाँजा फेला परेको थियो। चालक कृष्ण घलान र ट्रकमा सवार रोनाल विश्वकर्मालाई सोही गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुईजनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।