प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

सिमरा गोल्डकप: उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

२०७८ चैत्र १८, शुक्रबार ०७:४५ बजे

हेटौंडा – १२औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल एपीएफ क्लब र एनआरटी भिड्दैछन् ।

सिमरा रंगशालामा हुने फाइनल अघिको पत्रकार सम्मेलनमा दुबै टिमले उपाधि जित्ने दावी गरेका छन् ।

एपीएफ प्रशिक्षक कुमार थापाले एनआरटीविरुद्ध जितका लागि खेल्ने बताए । ‘फाइनल पुगेका छौ, हामी जितका लागि खेल्नेछौ,’ प्रशिक्षक कुमार थापाले भने  ।

एपीएफका कप्तान नबिन लामाले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको तथा आफूहरु फाइनल खेल्न तयार रहेको बताए । ‘नकआउट प्रतियोगितामा सबै खेल फाइनल नै हो, कुनै पनि खेलमा पराजित भए बाहिरिन्छौ । हामी मुख्य फाइनलमा आएका छौ र फाइनल खेल्न तयार छौ,’ नबिन लामाले भने । उनले फाइनल खेलका लागि कुनै पनि दवाव नरहेको समेत बताए ।

त्यस्तै एनआरटी प्रशिक्षक राजु काजी शाक्य एपीएफ क्लब राम्रो टिम रहेको बताएपनि जितका लागि खेल्ने जनाए । ‘एपीएफ क्लब राम्रो टिम हो, उसले ए डिभिजन लिगमा पनि राम्रो गरेको छ । तर पनि हामी जितका लागि खेल्छौ,’  शाक्यले भने । उनले राम्रो फुटबल प्रदर्शन गर्ने अपेक्षा रहेको उल्लेख गरे ।

यता एनआरटीका रंजन विष्टले खेलाडीहरुबीच तालमेल मिलेको तथा फाइनल पुगेर सबै उत्साहित भएको बताए । ‘फाइनलमा पुगेर सबै उत्साहित छन् । नेपाल एपीएफ क्लब राम्रो टिम भएपनि हामी उपाधिका लागि लड्नेछौ । राम्रो खेलको अपेक्षा रहेको छ ।’ नयाँ जेनेरेसनका लागि पहिलो फाइनल भएकाले उपाधि जित्ने लक्ष्य हुने उनले उल्लेख गरे ।

सेमिफाइनलमा नेपाल एपीएफ क्लबले बाग्मती युवा क्लबलाई ४–१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अर्कोतर्फ एनआरटीले भने आयोजक नव जन जागृती युवा क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

नव जन जागृती युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले ५ लाख नगद प्राप्त गर्नेछ ।