काठमाडौं – निर्वाचन आयोगले आज (शुक्रबार) बाट मतदाता नामावली सङ्कलन कार्य स्थगित गरेको छ । नेपाल सरकारले २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले साउन १९ गते बिहिबारसम्म नामावली सूचीकृत गराएका नागरिकलाई मात्रै मतदाता नामावलीमा सूचीकृत गर्नेछ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “मिति घोषणापछि शुक्रबारदेखि नामावली सङ्कलन स्थगित भएको छ, अनलाइन सूचीकृत भएकाको साउन २१ गतेभित्र औँठा छाप र तस्बिर लिने व्यवस्था मिलाइएको छ ।” आयोगले काठमाडौँ उपत्यका अतिरिक्त पाँच जिल्लामा अनलाइन नामावली दर्ता पहिलो पटक सुरु गरेको थियो ।