प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भूकम्पले घर भत्काएपछि त्रिपालको बास, चिसोले गयो ४ जनाको सास

२०८० मंसिर १, शुक्रबार १६:४६ बजे

जाजरकोट – चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

हालसम्म जाजरकोट भूकम्पको चपेटमा परेका ४ जना पीडितले ज्यान गुमाएका छन् । यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको थियो । ज्यान गुमाउनेमानलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल रहेका थिए । 

प्रजिअ सुनारले चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए ।