काठमाडौं – एएफसी यू–१७ एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । भियतनामको फुथोस्थित भियतत्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई र थानाक्रित जाम्पालीले एक गोल गरे । खेलको ३० औं मिनेटमा तोन्तावानले गोल गर्दै थाइल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यस्तै ६५ औं मिनेटमा तोन्तावानले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७८ औं मिनेटमा सब्सिच्युड खेलाडी जाम्पालीले गोल गर्दै थाइल्याण्डलाई ३–० गोलको जित दिलाए ।
जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।
छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।