हेटौंडा – चौथो हेटौंडा उपमहानगरपालिका वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८० को उपाधि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले जितेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा बुधबार भएको फाइनल खेलमा हेटौंडा–१४ लाई सडनडेथमा ६–५ गोलअन्तरले पराजित गर्दै वडा नम्बर ४ ले उपाधि कब्जा गरेको हो ।
निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा २–२ गोलको बराबरी भएपछि उपाधि विजेता सडनडेथबाट टुङ्गो लगाउनु परेको हो ।
निकै प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६२ औं मिनेटमा वडा नम्बर ४ का दीपेश भण्डारीले गोल गर्दै १–० अग्रता दिलाएका थिए । तर त्यो अग्रता उपाधि जित्न पर्याप्त भएन । खेलको अन्त्य तीर वडा नम्बर १४ का अनुप राना मगरले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
सडनडेथमा उपाधि बाजीमा मार्न सफल वडा नम्बर ४ ले नगद २ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त हात पर्यो । प्रतियोगितामा तेस्रो हुने हेटौंडा १५ र चौथो हुने १३ नम्बर वडाले क्रमशः ५० र २५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी हेटौंडा–४ का खेलाडी अनिश महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । विधागततर्फ हेटौंडा–१४ का फरवार्ड अनुप रानामगर र डिफेण्डर सुविन धमला, हेटौंडा–४ गोलरक्षक निरज देउला, मिडफिल्ड दीपेश भण्डारी उत्कृष्ट घोषित भए । त्यस्तै प्रशिक्षकमा हेटौंडा–४ का शंकर खड्ग उत्कृष्ट घोषित हुँदा हेटौंडा–१५ का विश्वास भोलन सर्वाधिक गोलकर्ता घोषित भए । उनीहरुले जनही नगद ५–५ हजार हात पारे ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, आयोजक हेटौंडा नगर खेलकुद विकास समिति अध्यक्ष रवीन्द्र घिमिरे सहितले विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा हेटौंडाका १९ वटा वडाको सहभागिता रहेको थियो ।