काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोली बुधबार एसिया कपमा डेब्यू गर्दैछ । तीस हजार दर्शक क्षमताको मैदानमा विश्व वरीयताको नम्बर वान टोली पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यू गर्न लागेको हो ।
नेपालले बुधबार मुल्तान रंगशालामा पाकिस्तानसँग खेल्नेछ । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि वरियता शीर्ष टोलीसँग खेल्न लागेको हो । यसअघि नेपालले वरियताको आधारमा सबैभन्दा माथि रहेको टोली वेस्ट इन्डिजसंग विश्वकप ग्लोबल छनोटमा खेलेको थियो ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान वर्तमान समयमा आइसीसी ओडिआई वरियतामा शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । नेपाल आइसीसीको ओडिआई विश्व वरियतामा १५ औं स्थानमा छ ।
भोलिदेखि शुरु हुने एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।
पाकिस्तानको कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि नेपाली टोली मुल्तान पुगीसकेको छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलङ्का जानेछ ।
नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलङ्काको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ ।
नेपाल गत वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कपमा छनोट भएको थियो ।