हेटौंडा – नदीजन्य कच्चा पदार्थ उत्खनन् र ओसारपसार भदौ मसान्तसम्म पूर्णरुपमा बन्द छ । तर मकवानपुरगढी गाउँपालिकाको खोलानालाबाट अवैध रुपमा नदीजन्य कच्चा पदार्थ उत्खनन् र ओसारपसार गर्ने गतिविधि भइरहेको छ । नियन्त्रण र कारवाही प्रयास भने जति गर्न सकिन्थ्यो, तेति हुन सकेको छैन ।
ओसारपसार गर्न पाईन्छ, तर जिल्ला समन्वय समितिबाट मौज्दात प्रमाणित भएको हुनुपर्नेछ । गएको शनिबार राति मकवानपुरगढी गाउँपालिका वडा नं.२ मा मौज्दात प्रमाणित नै नगरीएको ढुङ्गा स्थानीय र प्रहरीले फेला पर्यो ।
स्थानीयका अनुसार टिपर आधा दर्जन बढी थिए । समयमै प्रहरीको टोली आइनपुग्दा जस मध्ये ४ वटा टिपर मात्रै नियन्त्रणमा आयो । तर, कारवाही प्रक्रिया अगाडी बढ्न सकेको छैन । नियन्त्रणमा लिएका टिपर मध्ये ना १ क ६२१७ नम्बरको टिपर सम्पर्कमा छैन । ढुङ्गा सडकमै खन्याएर चालकले भगाएका छन् ।
जफत हुनु पर्ने ढुङ्गा बाँकी ३ वटा टिपरले लोड भएको कता खन्याए । अत्तोपत्तो छैन । टिपर खाली छन् । सार्वसाधारणलाई तुरुन्तै जरिवाना गर्ने पालिका यस बिषयमा किन चुपाचप ? किन कानमा तेल ? गम्भीर प्रश्न उठेको छ ।
किन चुपचाप ? किन कानमा तेल ?
यसको पछाडीको कारण मकवानपुरगढी गाउँपालिका वडा नं.७ का वडासदस्य प्रतिमान रुम्बा हुन् । उनकै नेतृत्वमा उक्त ढुङ्गा मकवानपुरगढी गाउँपालिका वडा नं.७ सुकौराबाट ल्याईएको थियो ।
उनी पदले वडासदस्य हुन् । तर, पहुँच चाही ठुलै राख्छन् । उनको अगाडी वडाअध्यक्ष पनि फिका पर्छन् । कारण स्वार्थ समुहलाई आफ्नो पक्षमा राखेर आफ्नो काम फत्ते गर्न सक्ने उनको खुबी छ ।
पालिकामा नेपाली कांग्रेसको नेतृत्वसंगै टिपर समातिएको वडामा पनि कांग्रेसकै नेतृत्व छ । “कारण यही हुन सक्छ, सबै टिपर नियन्त्रणमा लिन नसकेको, टिपरको चाबी गाउँ प्रहरीको नियन्त्रणमा भएपनि कतै ढङ्गा खन्याएर टिपर, कतै ढुङ्गा गाएब भएको” स्थानीयहरु भन्छन्, “यस्तै ताल हो भने जरिवाना पनि गाएव हुन बेर छैन ।”
पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान भने,“भदौ मसान्तसम्म उत्खनन् तथा ओसारपसार बन्द भएको यस्तो कार्य गर्न कसैलाई छुट छैन, अवैध देखिए, प्रदेशको आर्थिक एने अनुसार कारवाही प्रक्रिया अगाडी बढाउँछौँ ।”
के हुन्छ कारवाही ?
प्रदेश आर्थिक ऐन २०८१ को दफा ९ को उपदफा २ को अनुसुची ६ का सिरियल नम्बर ५,१०, १५ र १७ अनुसार कारवाही हुने देखिन्छ । क्रम संख्या ५ मा १५ हजार, १० मा प्रतिघन मिटर २ हजार, १५ मा प्रतिघन मिटर २ हजार र १७ मा प्रति घनफिट १७ रुपैया ।


