मकवानपुर – समाजवादी प्रेस संगठन नेपाल, मकवानपुर जिल्ला समितिले पत्रकारमाथि भएको दुर्व्यबहारप्रति क्षमायाचना गर्न मनहरी गाउँपालिकाको कार्यालय, मकवानपुरलाई आग्रह गरेको छ ।
संगठन मकवानपुरका अध्यक्ष शिव प्रसाद चौलागाईंले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यही ३० भदौ शनिबारका दिन पत्रकारमाथि भएको दुर्व्यबहारको घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पालिकालाई क्षमायाचना गर्न र आगामी दिनमा प्रेस स्वतन्त्रता विरुद्धका यस्ता कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्न पनि आग्रह गर्नुभएको छ । ‘प्रेस स्वतन्त्रता विरोधी यस घटनाप्रति तत्काल क्षमायाचना गर्न र आगामी दिनमा पत्रकार तथा सञ्चारमाध्यमको मानमर्दन एवम् प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कार्य नगर्ने प्रतिबद्धता आमपत्रकारबीच गर्न मनहरी गाउँपालिका कार्यालयलाई आग्रह गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
पालिकाले नदीजन्य पदार्थ बिक्री वितरणमा आर्थिक अनियमितता गरेको भन्दै मकवानपुर, हेटौंडाको एक अनलाइनमा समाचार प्रकाशन भएपछि त्यसबारे आफ्नो तर्फबाट धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारमाथि दुर्व्यबहार भएको थियो । मनहरी गाउँपालिकाको कार्यालयले मनहरी गाउँपालिका ३, लामिटारस्थित कम्पाउन्डभित्र रहेको ‘ख’ ब्लकस्थित सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारमाथि भएको दुर्व्यबहारको मकवानपुरस्थित पत्रकार महासंघसहित पत्रकार सम्बन्धी संगठनहरुले विरोध जनाएका छन् ।
पत्रकार सम्मेलनका लागि निम्ता गरी पालिकाले पत्रकारलाई अघोषित बन्धक बनाउँनु अत्यन्त गैरजिम्मेवारपूर्ण कार्य भएको संगठनले ठहर गरेको छ । ‘पालिकाले ढुङ्गा,गिट्टीको कर सङ्कलनमा अनियमितता गरेको समाचार जिल्लास्थित सञ्चारमाध्यममा सार्वजनिक भएकोबारे आफ्नो धारणा सार्वजनिक गर्न पत्रकारलाई निम्ता गरी कम्पाउण्डभित्र पसिसकेपछि गेट बन्द गरी अघोषित रुपमा बन्धक बनाउँने, पत्रकार बाहेक अन्य ठूलो भीड खडा गरी मनोवैज्ञानिक रुपमा आतङ्कित पार्ने, आरोपितलाई नै पत्रकार सम्मेलनमा जम्मा गरी त्रास उत्पन्न गर्नेजस्ता कार्य गर्नु अत्यन्त गैरजिम्मेवारपूर्ण कार्य भएको हाम्रो ठहर छ । ’ प्रेस विज्ञप्तीमा भनिएको छ ।
यस्तै, स्थानीय सरकारले बोलाएका कारण कार्यक्रममा पुगेका पत्रकारलाई असुरक्षा भएपछि सुरक्षाका लागि प्रहरी नै पुग्नुपर्ने अवस्था सिर्जना हुनु गाउँपालिका नेतृत्वको कमजोरीको पराकास्ठा हो भन्दा फरक नपर्ने समेत समाजवादी प्रेस संगठनले बताएको छ । संगठनले भनेको छ, ‘यो घटना मकवानपुरे सञ्चारकर्मी र सञ्चारमाध्यमहरुका लागि अत्यन्त दुःखद्, खेदजनक, घृणित र हतास मनस्थितीको उपज हो ।’ राज्यको चौथो अङ्ग मानिने सञ्चारमाध्यमप्रति यस प्रकारको निन्दनीय घटना हुँदा समेत पालिकाको नेतृत्वलाई कुनै कमजोरी महसुस नहुनु, घटनापछि लज्जाबोध नहुनु र पालिकाको तर्फबाट क्षमायाचना नहुनु गैरजिम्मेवारीपना नै भएको संगठनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।