धनगढी – कैलाली लम्कीचुहा नगरपालिका–४ की ३३ वर्षीया मञ्जु रावलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले निजकी सौतासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मञ्जुकी सौता ४० वर्षीय गोम रावल, भतिज २४ वर्षीय भरत रावल, २२ वर्षीया वर्षा रावल र अछाम घर भएकी नातेदार ३७ वर्षीया सरिता रावल छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीप चन्दका अनुसार गोमा रावललाई दीपायल र बाँकी तीनलाई धनगढीबाट पक्राउ गरिएको हो । गत जेठ २५ गतेदेखि बेपत्ता भएकी मञ्जु रावललाई मोहन्याल गाउँपालिकाको बाँसबारी सामुदायिक वनको खोल्सामा आइतबार मृत फेला पारिएको थियो । मृतक रावलको हड्डी र कङ्काल भेटिएको थियो ।
मृतकका भाई सुरेन्द्र कार्कीले दिदी मञ्जुलाई बेपत्ता पारेको भन्दै किटानी जाहेरी दिएका थिए । साथै मृतकका छोरा विवेक रावलले आमा मञ्जुको खोजतलास गरी पाउँ भनी इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमानको निधनपछि दुई सौताबीच अंशबण्डाका विषयमा विवाद सुरु भएको थियो । विवादित जग्गा मृतक मञ्जुका नाममा थियो । मञ्जुको नामको अंश र जग्गा जमिन लिनका लागि उनको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।