हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा बजारको बिजुलीको पोलमा लट्टा परेको कपाल जस्तै, तारको लठ्ठा प्रशस्तै देखिन्छ । अब पोलमा तारको लठ्ठा मात्रै होइन, पोलको तार लत्रिन पनि सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं.४ र ५ को सिमाना पर्ने भैरबरोडमा बिजुलीको पोलमा टागिएका तारहरु सवारीसाधन गुडाउनै अवरोध हुने गरि लत्रिएको हो । सो स्थानमा लत्रिएको तारमा सेतो प्लाष्टकको बोरा समेत झुन्डाईएको छ ।

विचसडममा अव्यवस्थित रुपमा लत्रिएको तारको कारण कतिबेला दुर्घटना निम्तिने हो, कुनै ठेगान छैन । हेटौंडा उपमहानगरको यो हविगतले जति कुरूप बनाएको छ, त्यति जोखिम पनि निम्त्याएको छ ।
अव्यवस्थित तारका कारण उपमहानगरमा जोखिम बढे पनि समाधानतर्फ सरोकारवाला निकायको चासो पुगेको देखिन्न । तार व्यवस्थापनमा ध्यान नपु¥याउँदा सम्भावित दुर्घटनाको जोखिम मोल्न सडक प्रयोगकर्ताहरु बाध्य रहेको हेटौंडाका युवा व्यवसायी विकेशलाल श्रेष्ठ बताउँछन् । उनले भने,‘यो लत्रिएको तारको कारण सडकमा कुनै पनि बेला दुर्घटना घट्न सक्ने अवस्था छ, जसको कारण मानवीय क्षति नपुग्ला भन्न सकिन्न ।’
उनले ‘वडा कार्यलय, स्थानिय, नेपाल टेलिकम, विधुत प्राधिकरण, विभिन्न ईन्टरनेट कम्पनी वा विभिन्न टेलिभिजन लाईन प्रदान गर्ने कम्पनी, यसको जिम्मेवारी कसले लिनुपर्ला ?’ भन्दै प्रश्न समेत गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्र दिप श्रेष्ठले भाडाको विषयमा बिवाद भएको कारण आफुहरु केही गर्न नमिल्ने बताए । प्रमुख श्रेष्ठ तार व्यवस्थापन शहरको सुन्दरतासंग जोडिएकोले हेटौंडा उपमहानगरले हेर्नु पर्ने भन्दै पन्छिए । यस विषयमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा व्यस्त रहेको कारण प्रतिक्रिया आउन सकेन ।
हेटौंडालाई सफा र सुन्दर बनाउँन साँघुरो सडकको किनार र डिभाइडरमा फुलका बोट विरुवा रोपेर मात्रै हुँदैन । सडक किनारका बिजुली पोलमा टागिएका अव्यवस्थित टेलिफोन, इन्टरनेट, बिजुली लगायतका तार व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।