काठमाडौं – रामेछापको मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एकजना महिला वडा सदस्यको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार मन्थली नगरपालिका–४ की वडा सदस्य ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको हो।
सदरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा आज दिउँसो करिब १ बजे सडकबाट लगभग १५० मिटर तल खसेको थियो।
दुर्घटनामा सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि काठमाडौँ पठाइएको छ। अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी ५ महिनाका छोरी रोनिषा छन्।
घाइतेमध्ये चालक गुणकुमार थापामगर र दिलीपकुमार बरुवाल सिकिस्त रहेको र घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए। मृतक वडा सदस्य नेपालीको शव मन्थली अस्पतालमा राखिएको छ।