हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा भएको दुर्घटनामा परी घाइते भएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–४ बस्ने ३६ वर्षीय प्रकाश मोक्तान रहेका छन् ।
गत चैतमा पुर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी–८ सिमपानीमा ज्यामिरेतर्फ जादै गरेको ना१ह ५६८२ नम्बरको अटोले ५१ प २०१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार मनहरी–९ मगरचोक बस्ने ३२ वर्षीय लाल मोक्तान र प्रकाश घाइते भएका थिए । उनीहरुको उपचारका लागि भरतपुर पुरानो मेडिकल कलेज लगिएको थियो ।
मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार प्रकाशको उपचार सम्भव नभएपछि घरमा ल्याईएकोमा उनको शनिबार मृत्यु भएको हो । अटो चालक अंगभंग मुद्दामा मुद्दा चलाएपनि धरौटीमा छुटेको कार्कीले बताए ।
त्यस्तै पुर्व पश्चिम सडकखण्ड अन्तर्गत मनहरी गाउँपालिका–७ बिजौनामा भारतिय एम्बुलेन्सको ठक्करबाट मोटरसाइलमा सवार एक जना घाइते भएका छन् । शनिबार बिआर–०५ पि २०५७ नम्बरको एम्बुलेन्सले प्रदेश ३–०२–००९ प ४८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा पर्सा ठोरी बस्ने २५ वर्षीय दिनेश सापकोटा घाइते भएका हुन् । उनको उपचारको लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको बकैंया गाउँपालिका–५ मा ना.३ ख.६५५ नम्बरको ट्रकको ब्रकेफेल भएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । ट्रक चालक बारा कोल्बी नगरपालिका– १ बस्ने ५१ को शंकर चौधरी घाइते भएका हुन् । प्रहरीका अनुसार घाइते चौधरीको प्राथामिक स्वास्थ्य केन्द्र छतिवनमा उपचार भइरहेको छ । चिउरा/भुसा बोकेको उत्तः ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकबाट करिब ३० मिटर तल खसेको थियो ।