प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

राप्रपा छाडेर मधु अधिकारी गठबन्धन तिर

२०७९ बैशाख २४, शनिबार १४:१३ बजे

हेटौँडा – शुक्रबार मात्र तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको यात्रा त्यागेर स्वतन्त्र भएका नेता मधु अधिकारी शनिबार वाम लोकतान्त्रिक गठबन्धनका पक्षमा खुलेका छन् ।
शनिबार हेटौँडा–४ को वाम लोकतान्त्रिक गठबन्धनको कोणसभाका एक मात्र वक्ताका रुपमा मध अधिकारी देखिए । उनले भने, ‘२० वर्ष हेटौँडामा केही नगरेको एमालेलाई यसपटक हराइदिनुहोस्, गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले जित्न जरुरी छ ।’

अधिकारीको तर्क थियो, ‘संसद विघटन गर्ने, राष्ट्र विघटनको प्रयास गर्ने एमालेको बदमासीविरुद्ध गठबन्धन जरुरी भएको हो, यो गठबन्धन एकाम मेयर उपमेयर र वडाध्यक्ष बाँड्न बनाइएको होइन ।’

अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेटौँडामा मेयरका उम्मेदवार दीपक बहादुर सिंहलाई पनि कटाक्ष गरे । उनले भने, ‘पार्टी बनाउन म लागेँ, अवसर लिनेहरु फेरि सामन्तवादकै अनुहार दोहोरिए ।’ उनले राप्रपाले हेटौँडामा उठाएका मुद्दा २० वर्ष पुरानो भएको र अहिले हेटौँडा बदलिएको राप्रपाले थाहै नपाएको बताए ।