मकवानपुर – हेटौंडामा भएको जिल्ला स्तरीय अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगितको उपाधि भुटनदेवी माविले जितेको छ। बिहीबार भएको फाइनल खेलमा सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीलाई ७८ रनले पराजित गर्दै भुटनदेवीले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भुटनदेवीले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय रनमा समेटिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सोलिड्यारिटीको पनि ब्याटिङ चल्न सकेन । सोलिड्यारिटी १२ ओभरमा अलआउट हुँदा ३८ रनमै समेटियो । प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
मकवानपुर क्रिकेट संघको आयोजनामा भएको निरज श्रेष्ठ स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको विजेताले उपाधिसँगै भुटनदेवीले ३० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै उपविजेता बनेको सोलिड्यारिटीले २० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता मकवानपुर जिल्लाको क्रिकेट टिमका पूर्वकप्तान निरज श्रेष्ठको स्मृतिमा पहिलो पटक आयोजना गरिएको हो ।