प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बेबारिसे शवको व्यवस्थापनमा सास्ती

२०८० भाद्र २४, आईतबार ०२:२२ बजे

काठमाडौं – गत जेठ १८ गते भत्तलपुरको चाँगुनारायण नगरपालिका(३ मा एक ३५ वर्षीया युवती मृत अवस्थामा फेला परिन् । शव सुन्निएको थियो । प्रहरीले जाँच गर्दा ती युवतीको नाम कुमारी बस्नेत रहेको पत्ता लाग्यो । तर ठेगाना पत्ता लागेन ।

सनाखत गर्न न चिनेका मानिस फेला परे न आफन्त । प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव अस्पताल पु-यायो । त्यो शव अस्पतालको मर्चरी (शव फ्रिजिङ गर्ने बाकस) मा छ । यस्तै जेठ २ गते ललितपुर महानगरपालिका ७ ग्वार्को चोकमा अन्दाजी ४०(४५ वर्षका पुरुषको शव फेला पर्यो ।

शवसँग ती व्यक्तिको पहिचान खुल्ने कुनै प्रमाणपत्र फेला परेन । न कसैले उनको सनाखत गर्न सक्यो । त्यसपछि प्रहरीले मुचुल्का उठाएर शव मर्चरीमा लगेर थन्कायो ।

यी दुई उदाहरण मात्रै हुन् । २०७२ सालको भूकम्पयता प्रहरीको रेकर्डमा १ हजार ४४८ बेवारिसे शव फेला परेका छन् । जसमध्ये केहीको मात्र आंशिक परिचय खुलेको छ । आंशिक परिचयमा कसैको नाम र कसैको अस्पष्ट हुनेगरी ठेगाना खुलेको प्रहरी रेकर्डले देखाउँछ । पहिचान नखुलेका व्यवस्थापनमा भने प्रहरीले सास्ती भोग्नुपर्छ ।

'सनाखत गर्न र आफन्तको शव अन्त्येष्टि गर्न पाउने हक सुनिश्चित गर्न पहिला हामीले पहिचान नखुलेका शव जोगाएर राख्नुपर्ने हुन्छ,' प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भन्छन्,'तर काठमाडौं उपत्यकाबाहिर शव फ्रिजिङ गर्ने व्यवस्था छैन । उपत्यकामै पनि क्षमता न्यून छ।' यो समाचार नागरिक दैनिकमा छ ।