काठमाडौं – ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्। धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमान एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका हुन् । उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनाधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डहरू मार्फत निकालेर प्रयोग गरेका थिए ।
अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।