प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पाँचौ मकवानपुर गोल्डकपको उपाधि मनाङ मस्याङ्दीलाई

२०७९ फाल्गुन १०, बुधबार १२:३४ बजे

हेटौंडा – मनाङ मस्याङदी क्लबले पाँचौ स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्प रंगशालामा बुधबार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।

मनाङलाई उपाधि दिलाउन रोशन राना मगर एक मात्रै गोल गरे । निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा खेलको ७८ औँ मिनेटमा रोशन राना मगरले गोल गरे । बाँकी समयमा थप गोल गर्न नसकेपछि रोशनकै गोल जितको लागि निर्णायक बन्यो ।

उपाधिसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता शेर्पाले १० लाख पाएको छ ।

प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पारे ।

यस्तै उत्कृष्ट गोलरकिपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ , मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड शेर्पाका योउमी र प्रशिक्षक मनाङका किरन श्रेष्ठ चुनिए । उनीहरुले जनही २५–२५ हजार हात पारे ।