प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर गोल्डकपको उपाधिका लागि हिमालयन शेर्पा र मनाङ मस्याङ्दी भिड्ने

२०७९ फाल्गुन ८, सोमबार १२:५४ बजे

हेटौंडा– हिमालयन शेर्पा क्लब हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा शेर्पाले क्यामरुनी टिम एभिनियर एफसीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा हिमालयन शेर्पाको जितमा सुनिल श्रेष्ठ नायक बने । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको सुरुवातीमै हिमालयन शेर्पा गोल गर्न सफल भयो । खेलको ५२ औँ मिनेटमा योउमीको पासमा सुनिल श्रेष्ठले गोल गरे ।

खेल अवधिभर एभिनियर एफसीले शेर्पालाई दबावमा राख्यो । तर पाएको अवसर भने सदुपयोग गर्न नसक्दा एभिनियरले हार ब्यहोर्न पुग्यो ।

निर्णायक गोल गरेका सुनिल श्रेष्ठ खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।

अब हिमालयन शेर्पाले उपाधिका लागि मनाङ मस्याङ्दी क्बलसंग भिड्नेछ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।

यसअघि प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मनाङले विभागिय टोली सशस्त्र प्रहरी बल(एपिएफ)लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।