हेटौंडा – बागमती प्रदेशको पाँच जिल्लामा विभिन्न घटनामा छ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय अनुसार शनिबार एकैदिन चार जनाको झुण्डिएर, दुर्घटनामा एक र बेहोस भएका एक जनाको मृत्यु भएको हो ।
नुवाकोटमा एकैदिन दुई जनाले आत्महत्या गरेका छन् । जिल्लाको पन्चकन्या गाउँपालिका–२, छापथोक स्थित बस्ने अन्दाजी ३३ वर्षीया सरिता मिजारले आफ्नै घरको सुत्ने कोठाको बलोमा डोरीले पासो लगाएर ज्यान फालेको प्रहरीले जनाएको छ । त्यस्तै शिवपुरी गाउँपालिका–८ थानापती स्थित बस्ने अन्दाजी २७ वर्षीय राम बहादुर तामाङले आफ्नै घरको बलोमा पासो लगाएर आत्महत्या गरेका हुन् ।
त्यसैगरी धादिङ गजुरी गाउँपालिका–१, उप्रेतीगाउँ बस्ने ३२ वर्षीय सन्देश परियार रूखमा र चितवन रत्ननगर नगरपालिका–११ बस्ने ३० वर्षीय गणेश अधिकारी आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौंडा उपमहानरपालिका–१ मा ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा–६ चौघडा बस्ने अन्दाजी ५० वर्षीय कृष्ण सापकोटाको मृत्यु भएको छ । उता एक्कासी बेहोस भएर ढलेका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–२ का ३८ वर्षीया केशरी घिमिरेको धुलिखेल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भक्तपुर, राधेराधेमा डेरामा बस्थे ।