हेटौंडा – चौथोँ संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको माउन्टेन एफसीले जितेको छ ।
थाहा नगरपालिकाको इद्रायणी खेलमैदानमा बिहिबार भएको फाइनल खेलमा घरेलु टोली पारिजात स्मृति पुस्तकालय चित्लाङलाई २–१ गोल अन्तरले पराजित गर्दै माउन्टेनले उपाधि हात पारेको हो ।
माउन्टेनको जितमा उर्गेन शेर्पा र अमित लामाले एक–एक१ गोल गरे । पारिजातका याकुवले बदलामा एक गोल गरे । प्रतियोगिताको फाइनलका म्यान अफ द म्याच अमित लामा घोषित भए ।
प्रतियोगिताको विजेता माउन्टेन एफसीले नगद २ लाख सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पारिजातले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी माउन्टेनका अमित लामा घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै विधागततर्फ सर्वाधिक गोलकर्ता पारिजातका सोलोमन, उत्कृष्ट डिफेन्डर माउन्टेनका सबिन खड्का र उत्कृष्ट गोलकिपर माउन्टेनका सागर मगर घोषित भए। उनिहरुले नगद ५ हजार सहित ट्रफी हात पारे।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई थाहानगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली लगायतले पुरस्कार प्रदान गरेका थिए ।