काठमाडौं – भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा लेबनानले सहभागिता जनाउने भएको छ ।
बंगलादेशको ढाकामा भएको साफको साधारणसभाले लेबनानलाई प्रतियोगितामा सहभागी गराउने निर्णय गरिएको दक्षिण एसियाली फुटबल महासंघले जनाएको छ ।
साफ च्याम्पियनसिप भारतको बेंगलुरुमा यही जुन २१ देखि ४ जुलाईसम्म हुँदैछ । यसअघि दक्षिण एसियाली क्षेत्रबाहिरबाट कुवेत साफ च्याम्पियनसिपमा सहभागिता जनाउने पक्का गरेको थियो ।
यस पटक साफ च्याम्पियनसिपमा बंगलादेश, भारत, भुटान, पाकिस्तान, माल्दिभ्स, नेपाल, कुवेत र लेबनान गरी आठ राष्ट्रले सहभागी जनाउने छन् । फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।
यि आठ टोली मध्ये फिफा वरीयतामा सबैभन्दा कलियो लेबनान रहेको छ । लेबनान वरीयताको ९९औं स्थानमा रहेको छ । त्यस्तै भारत १०१ औं स्थानमा रहँदा कुवेत १४३औं स्थानमा रहेको छ । नेपाल १७४औं स्थानमा रहेको छ । नेपालभन्दा तल्लो वरीयतामा रहने सार्क देशहरूमा भुटान १८५, बंगलादेश १९२, पाकिस्तान १९५ र श्रीलंका २०७औं स्थानमा रहेका छन् ।
माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।