हेटौंडा – गोलरक्षक दीप कार्की टाइब्रेकरमा नायक बन्दा मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मनाङले विभागीय टोली शसस्त्र प्रहरी बल(एपिएफ)लाई पेनाल्टी सुटआउट (ट्राईब्रेकर)मा ४–२ गोल अन्तरले पराजित गरेको हो । हारपछि एपिएफ बाहिरिएको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलको निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टी सुटआउटमा मनाङलाई जित दिलाउनका लागि गोलरक्षक दीप कार्की नायक बने । उनले एपिएफका एक खेलाडीको पेनाल्टी प्रहार रोके ।
जहाँ मनाङका चारै खेलाडीले गोल गरे । एपिएफका दुई खेलाडीले गोल गर्दा एक खेलाडीको प्रहार गोल पोष्टको बारमा लाग्दै बाहिरियो ।

मनाङको पहिलो प्रहारमा सरोज योञ्जन लामाले गोलमा परिणत गरे । त्यसपछि एपिएफका कप्तान नविन लामाले रहजै गोल गर्न सफल भए ।
मनाङका लागि दोस्रो पेनाल्टी प्रहार गरेका भिसोन गुरुङले सजिलै जाली चुमाए । एपिएफको रक्षक सुदिप शिखाकारको प्रहार गोलरक्षक दीक कार्कीको पञ्जामा लाग्दै गोलमा परिणत भयो ।
तेस्रो र चौथो पेनाल्टी प्रहार गर्न आएका मनाङका सेदजामोल दाभ्लातजोनोभ र निराजन मल्ल एपिएफका गोलकिप्पर राजु नगरकोटीलाई छक्याउँदै गोल गर्न सफल भए ।
एपिएफबाट तेस्रो पेनाल्टी प्रहार गर्न आएका सनिश श्रेष्ठले गोल गर्न सकेनन् । उनको प्रहार गोलपोष्टको बारमा लाग्दै बाहिरियो ।
चौथो तथा खेलको अन्तिम पेनाल्टी प्रहार गर्न आएका दिपेश धिमालको प्रहार गोलरक्षक दीप कार्कीले बचाउ गर्दै मनाङलाई फाइनलको बाटोमा डोर्याए ।
यसअघि ९० मिनेटको खेलमा दुबै टोली राम्रो अवसर पाएपनि गोल गर्न भने सकेन । खेलको ८३ औँ मिनेटमा सेदजामोलले डिबक्स लाईनबाट गोल गर्ने अवसर पाएका थिए । उनको शसक्त प्रहार गोलपोष्टको फ्रेममा समेत परेन ।
त्यस्तै खेलको ८५ औँ मिनेटमा डिबक्सभित्र अनमार्क रहेका एपिएफका प्रदिप लामाले गोल गर्ने उत्कृष्ट मौका खेर फालेका थिए । दुबै टोलीले गोल गर्न नसकेपछि खेल हारजितको निर्णय लिन पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो ।
पेनाल्टी बचाउ गर्दै जितका नायक बनेका गोलरक्षक दीप कार्की खेलको म्यान अफ द म्याच घोषित भए । उनले १० हजार नगद प्राप्त गरे ।
संर्घषपूर्ण जितसंगै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको मनाङले उपाधिका लागि क्यामरुनी टोली एभिनियर एफसी र हिमालयन शेर्पा क्लबबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । एभिनियर र शेर्पाबीचको खेल भोली दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।