प्रहर खबर
 २०८३ जेष्ठ २२, शुक्रवार    

चार जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

२०७९ कार्तिक ६, आईतबार ०५:२७ बजे

हेटौंडा – चार जिल्लामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दार्चुलामा दुई र चितवन, रुपन्देही, बारामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ६ चौलानीमा हिजो बेलुकी ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना भने घाइते भएका छन् । शनिबार बेलुकी पौने ७ बजे सुदुरपश्चिम प्रदेश ०२–००१ त १४६७ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब ४० मीटर तल खसेको थियो । दुर्घटनामा ट्याक्टर चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी बस्ने ३५ वर्षीय कल्चु राना र ट्याक्टरमा सवार शैल्यशिखर नगरपालिका ५ बगौरा बस्ने २३ वर्षीय सन्तोष डांगाको घटनास्थनमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै चितवनको रत्ननगर नगरपालिका ११ ओझा चोकमा गएराति स्कुटर पल्टिदा चालकको मृत्यु भएको छ । पदमपुरबाट जिरौनातर्फ जाँदै गरेको बाग्मती प्रदेश९०६९००१ प ९२१७ नम्बरको स्कुटर अनियन्त्रित भएर गएराति १० बजे पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय धुर्वराज भट्टराईको उपचारको क्रममा भरतपुर मेडिकल कलेज मा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।

त्यसैगरी रुपन्देहीको ओमसतिया गाउँपालिका ५ दरखसवामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै रोहिणी गाउँपालिका ६ बिसनपुर बस्ने २९ वर्षीय महेश यादव रहेका छन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराती नम्बर नखुलेको ट्याक्टरले लु ११ प १२८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीले जानकारी दिएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका २ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराकै करैयामाई गाउँपालिका ५ बस्ने ४० वर्षीय राम सुरत चौधरी रहेका छन् । हिजो बेलुकी ८ बजे प्रदेश २–०३–००१ ख ०३१६ नम्बरको ट्रकले पैदल हिंडिरहेका चौधरीलाई ठक्कर दिएको हो । ट्रक चालक नियन्त्रणमा रहेको इलाका प्रहरी सिमरा बाराले जनाएको छ ।