हेटौंडा – नेपाल विद्युत प्राधिकरण हेटौंडा बितरण केन्द्रले आफ्नै उत्पादन युनिटलाई कालो सूचीमा राखेर सूचना प्रकाशन गरेको छ । कुलेखानी जलविद्युत आयोजनालाई प्राधिकरणले कालोसूचीमा राखेको हो । कुलेखानी दोस्रोको ४ हजार आठ सय ५६ रुपैयाँ र कुलेखानी तेस्रोको एक लाख ४ हजार सात सय ८९ रुपैयाँ तिर्न बाँकी देखाएको र कुलेखानी जलविद्युत आयोजनाको दुबै युनिटलाई प्राधिकरणले कालोसूचीमा राखेको हो ।
कुलेखानी दोस्रो र तेस्रो आयोजनाले प्राधिकरणलाई कूल एक लाख ९ हजार ६ सय ४५ रुपैयाँ तिर्न बाँकी देखाइएको छ । कुलेखानी जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत प्राधिकरणले बिक्री गरिरहेको छ । आफ्नै उत्पादन गर्ने युनिटलाई कालोसूचीमा राखेको सूचना प्राधिकरणले सार्वजनिक गरेको हो ।
कालोसूचीमा रहेका ग्राहकहरुले आउँदो असार मसान्तभित्र बाँकी विद्युत महशुल बुझाउँदा १० प्रतिशत छुट नपाईने भएको छ । आइतरबार नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले कालोसूची रहेका ग्राहकहरुको नामावली सार्वजनिक गर्दै बाँकी बक्यौता बुझाउन आग्रह गरेको छ ।
सार्वजनिक विवरण अनुसार हेटौंडा वितरण केन्द्रको क्षेत्राधिकारभित्रका ५ सय ४२ जना ग्राहक कालो सूचीमा रहेका छन् । कालोसूचीमा परेपछि सार्वजनिक गरिएका ग्राहकहरुको तीन पुस्ते विवरणहरु सहित जिल्ला प्रशासन कार्यालय, नापी, मालपोत, उपमहानगरपालिका, गाउँपालिका एवं वडा कार्यालयहरुमा पठाउने तयारी भइरहेको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ ।
कालोसूचीमा रहेका ग्राहकहरुबाट नेपाल विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सरकारी बाँकी महशुल असुलउपर गरिने समेत जनाएको छ । प्राधिकरणले जारी गरेको सूचनामा साविकको भीमफेदी गाउँ विकास समितिको नाममा ५५ हजार रुपैयाँ, तत्कालीन जिल्ला विकास समितिको नाममा दुई हजार पाँच सय ५५ रुपैयाँ बक्यौता देखाइएको छ । नेपाल तामाङ घेदुङको नाममा पनि १७ हजार सातसय ५२ रुपैयाँ बक्यौता देखाएइको छ ।
२०५६ सालदेखि संचालनमा आउन नसकेको र पटकपटक लिक्वीडेसनमा गएको हेटौंडा–काठमाडौं रोपवेको नाममा प्राधिकरणले ११ लाख ६३ हजार आठ सय ९४ रुपैयाँ बक्यौता देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रबिभक्त श्रेष्ठले हेटौंडा–३ बसामाडीमा संचालन गरेको नबीन रिरोलिङ उद्योगको नाममा तीन लाख १० हजार आठ सय आठ रुपैयाँ बक्यौता देखाएको छ । जुन उद्योग दुई दसकदेखि बन्द भएको थियो । त्यस्तै बसामाडीमा उद्योग स्थापना गरेको राप्ती डिहाइड्रेसनको नाममा एक लाख ४० हजार एक सय ६ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।