प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

बागमती गोल्डकप: ट्राईब्रेकरमा हिमालयन शेर्पा भाग्यमानी, आर्मी पराजित

२०७९ पौष २६, मंगलबार १२:३२ बजे

हेटौंडा – हिमालयन शेर्पा क्लब पाँचौं बागमती गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बागमती गाउँपालिकास्थित जनता माविको खेलमैदानमा मंगलबार भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ट्राईबे्रकरमा ४–२ गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेलको नतिजाका लागि पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो।पेनाल्टी सुटआउटमा हिमालयन शेर्पाका एरिक बेली, विश्वास श्रेष्ठ, विकास लामा र सत्ष्म शर्माले गोल गरे ।

आर्मीका भरत खवास र टेक बहादुर बुढाथोकीले गोल गर्दा दिपेश हेम्जन र कमल बहादुर थापाको प्रहार हिमालयन शेर्पाका गोलरक्षक दिप कार्कीले बचाउ गरे ।

निर्धारित समयको पहिलो हाफमा अग्रता जोगाउन नसक्दा आर्मी पेनाल्टि सुटआउटमा पराजित भएको हो । आर्मी खेलको २२ औं मिनेटमा अग्रता बनाएको थियो । आर्मीका नवयुग श्रेष्ठले फेनाल्टीमार्फत गोल गरेका थिए ।

आर्मीको त्यो अग्रता दोस्रो हाफमा तोडियो । हिमालयन शेर्पाका विदेशी खेलाडी प्रिन्सले खेलको ६० औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । बाँकी समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

दुई पेनाल्टी प्रहार रोकेका हिमालयन शेर्पाका गोलरक्षक दिप कार्की म्यानआफ द म्याच घोषित भए । उनले नगद ५ हजार प्राप्त गरेका छन् । 

सेमिफाइनल प्रवेशका लागि शेर्पाले अमेरिकी टोली भुट्नीज स्पोर्टस् क्लबसंग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै प्रतियोगितामा भोली बुधबार नेपाल एपीएफ र मच्छिन्द्र क्लबबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तस्विरः गोलनेपाल डटकम