प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको महोत्सवमा प्रताप दास, निशान भट्टराई र जेनिश उप्रेती आउने

२०७९ माघ २१, शनिबार ०२:०६ बजे

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा आज शनिबार तीन गायक आउने भएका छन् ।

मेलामा संगीतिक प्रस्तुतीका लागि चर्चित गायक प्रताप दास, निशान भट्टराई र बालगायक जेनिश उप्रेती आउने भएका हुन् । आज हेटौंको टिसिएन चौरमा उनिहरुले संगीतिक प्रस्तुतीमार्फत दर्शक नचाउने छन् । 

महोत्सवको दशौं दिन हिजो शुक्रबार चर्चित व्याण्ड कर्मा व्याण्ड, गायक मानसराज र गायिका ऋतु कंडेलले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । 

शुक्रबार करिब १० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्दा भोली शनिबार आजको भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।

महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टार भोटिङ राउण्ड सुरु भइरहेको छ ।

१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

महोत्सवको समापन माघ २३ गते हुनेछ ।