हेटौंडा – सुन्दर नगरिको पहिचान बनाएको मात्रै होइन, पटक पटक देशकै सफा नगरपालिकाको रुपमा स्थापित हुन सफल भएको हेटौंडा उपमहानगरपालिकाका सडकहरु सफा देखिन्छन । प्रत्येक दिन घर घरबाट सहयोगी संस्थाले फोहर संकलन गर्छ, संकलित फोहरबाट पुनः प्रयोग गर्न मिल्ने प्लाष्टिक, कागज तथा कुहिने फोहर पनि साझेदार संस्थाले नै छुट्याउँछ आफ्नो घरको फोहर व्यवस्थापन गरे वापत नगरवासीले केही शुल्क समेत साझेदार संस्थालाई तिर्छन ।
फोहर व्यवस्थापनको यि सबै चरणहरु पार गरिसकेपछि अन्तिम बिर्सजन गर्नुपर्ने फोहर बाँकी रहन्छ । सो फोहरको व्यवस्थापनको जिम्मेवारी हेटौंडा उपमहानगरपालिकाको हो । पहिलो कुरो त मानव वस्तीको एक सय मिटर आसपासमा उपमहानगरपालिकाले डम्पीङ साइड बनाएको छ, सो डम्पीङ साइड राप्ती खोलाको तट अतिक्रमण गरेर फोहर थुप्राउने काममा ल्याएको छ, नगरले ।
बर्षातको बेला नगरपालिकाले थुपारेको फोहरबाट निस्कने लिच्ड सिधैं राप्ती खोलामा मिसिन्छ, जसका कारण राप्तीको जलचर प्राणीहरु मात्रै संकटमा छैनन, राप्ती आश्रित जनजिवन समेत ध्वस्त भएको छ, समस्या यतिमा मात्रै सिमित छैन, बजार आसपास ठेला तथा फुटपाथमा व्यापार गरेर जीविकोपार्जन गर्ने भुँइ मान्छेहरुलाई खेद्न, लखेट्न अनि नदिजन्य पद्धार्थहरु ओसार्ने सवारी साधनको पछि लागि रहेका भेटिने नगर प्रहरीहरु हेटौंडा उपमहानगरपालिकाले बस्तीहरुको बिचमा बनाएको डम्पीङ साइडको सुरक्षामा भने खटाएको देखिदैन, सुरक्षा नहुँदा मानव बस्तीको बिच तथा राप्ती तटमा रहेको डम्पीङ साइडमा बेला बेलामा आगलागी भईरहन्छ । यसबाट निस्कने धुँवा तीन सय मिटर दुरीमा रहेको हेटौंडा अस्पतालका बिरामीहरु सम्म मात्र होइन सम्पूर्ण हेटौंडावासी समेत यस्को चपेट्मा पर्छन ।
सुरक्षाको नाममा झारा तिर्नेगरि लगाइएको काडे तारमा अल्झिएर पटक पटक बिभिन्न बन्यजन्तुहरुको मृत्यु समेत हुने गरेको छ । तथापी हेटौंडाका जनप्रतिनिधिहरु तामझामका साथ रिवन काट्न, शिलान्यासका नाउँमा नगरवासीले तिरेको करको दुरुपयोग यसरी गरिरहेका छन, कि उनीहरुको आफ्नै खल्तीको पैसाले बिकास निर्माणको कार्यहरु गरिएको हो । खासमा फोहर व्यवस्थापन कार्यमा नगरपालिकाले राप्ती तटमा अतिक्रमण गरेर फोहर थुपार्ने र राप्ती नदि प्रदुषण गर्ने बाहेक कुनै कार्य गरेको देखिदैन ।
नगरवासीले तोकिएको समयमा आफ्नो घरबाट निस्कने फोहर संकलनमा आउने सवारी साधनमा हालिदिएका छन्, जस्को शुल्क तिरेका छन् । सहयोगी संस्थाले फोहर छानेर बाँकी भएको फोहर हेटौंडा उपमहानगरपालिकाले तोकेको डम्पीङ साइडमा पुर्याएको पनि छ, तर पटक–पटक आगलागीबाट निस्कने मानव स्वास्थ्का लागि अत्यन्त हानीकारक बिषालु धुँवा आफ्नो फोक्सोमा भर्न बाध्य पारेको छ, हेटौंडा उपमहानगरपालिकाले ।
बागमती प्रदेश राजधानीको एक मिनेटको दुरीमा रहेको डम्पीङ साइडमा यसरी आगोलागी हुँदा यहाँ नजिकै रहेका प्रहरी, प्रशासन, प्रदेश कार्यालय सबै मौन छन । हेटौंडा उपमहानगरपालिका समेत आलोटालोमा छ अहिले । आम नागरिकको जीवन र स्वास्थ्य संग जोडिएको गम्भीर बिषयमा गम्भीर भएको छैन हेटौंडा उपमहानगरपालिका । एक मिनेटको दुरीमा अस्पताल छ, यहाँ उपचार गर्न आउनेपनि यही धुँवाबाट पीडित छन । तर सरोकारवाल निकायको ध्यान गएको छैन, आम जनताको स्वास्थ्यमा नकारात्मक असर परिरहँदा सरोकारवालाहरु सभा, सम्मेलन र गोष्ठिमै व्यस्त छन अहिले ।
हेटौंडा उपमहानगरले फोहोर फाल्दै आएको डम्पिङ साइडमा माघ २८ शनिबार आगो लगाईएको थियो । करिब एक महिना वित्दा पनि उपमहानगरले आगो नियन्त्रणमा ल्याउन सकेको छैन । प्रत्येक बर्ष आफ्नो डम्पीङसाइडमा आगलागी हुँदै आएपनि कसले आगो लगायो ? भन्ने विषयमा उपमहानगर जवाफ विहिन छ ।
उपमहानगरपालिकाका जिम्मेवार व्यक्तिहरु यस बिषयमा बोल्न चाहदैनन् । हेटौंडा १० स्थित डम्पीङ साइडको फोहरमा आगोलागी भएर निस्केको बिषाक्त धुँवा पान गर्न नगरवासी बाध्य छन, यस्तो गम्भीर बिषयमा हेटौंडा उपमहानगरपालिका कहिले जवाफदेही र गम्भीर हुने हो ? आम जनताले प्रश्न गरिरहेका छन अहिले ।अनिरुद्र खबरबाट