प्रहर खबर
 २०८० फाल्गुन १०, बिहीबार    

स्थानीय तह बजेटः घट्यो बजेटको आकार, कतै स्थगित, कतै झडप

२०८० असार ११, सोमबार ०३:२० बजे

हेटौँडा – अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। स्थानीय तहले असार १० गतेभित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगर सभामा पेस गर्नुपर्ने व्यवस्था स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ मा उल्लेख छ । यो व्यवस्था अनुसार स्थानीय तहले आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नु पर्छ ।

असार १० सम्ममा आगामी आवको बजेट गाउँ/नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था भएबमोजिम आइतबार अधिकांश स्थानीय तहले आव २०८०/८१ का लागि बजेट पेस गरेका हुन् । केही स्थानीय तहले यसअघि नै बजेट पेस गरिसकेका थिए । बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकाले आइतबार पेस गरेका छन् ।

हेटौँडा उपमहानगरपालिकाले असार २ गते नै दुई अर्ब ६० करोड ६५ लाख ४० हजार रुपियाँको बजेट ल्याइसकेको छ । यो चालु आवको बजेटको तुलनामा ११ करोड रुपियाँले कम हो । स्थानीय तहको आगामी आवको नीति तथा कार्यव्रmम र बजेटका प्राथमिकता विगतका वर्षमा झैँ मूलतः कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनलाई नै दिएका छन् । सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान खुम्चिएको र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर बनेपछि सङ्घ र प्रदेश सरकारको जस्तै सबै जसो स्थानीय तहको बजेटको आकार घटेको छ ।

सिन्धुलीका सबै स्थानीय तहले ल्याए बजेट

सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये छ वटाले आइतबार आगामी आवका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। कमलामाई र दुधौली नगरपालिका तथा सुनकोशी, तीनपाटन र घ्याङलेख गाउँपालिकाले गाउँ तथा नगर सभामा नीति तथा कार्यक्रम र बजेट पेस गरेका हुन्। मरिण, फिक्कल र हरिहरपुरगढी गाउँपालिकाले यसअघि नै नीति तथा कार्यव्रmम र बजेट सार्वजनिक गरिसकेका छन्।

गोलन्जोर गाउँपालिकामा भने आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि विवादका कारण गाउँ सभा स्थगित भएको छ। नीति तथा कार्यक्रम र बजेटमा आफ्ना योजना नसमेटिएको भन्दै बहुमत गाउँ सभा सदस्यले अवरोध गरेपछि नीति तथा कार्यक्रममाथिको छलफल रोकिएको जनाइएको छ। आगामी आवका लागि कमलामाई नगरपालिकाले एक अर्ब ३९ करोड ४१ लाख ३४ हजार ६२९ रुपियाँ र दुधौली नगरपालिकाले एक अर्ब आठ करोड

३२ लाख ५६ हजार २४१ रुपियाँको बजेट पेश गरेका छन्। गाउँपालिकातर्फ सुनकोशीले २६ करोड ३६ लाख ६९ हजार र तीनपाटनले ७९ करोड ९० लाख २३ हजार रुपियाँको बजेट सार्वजनिक गरेका छन् । घ्याङलेखले गाउँपालिकाले पनि आगामी आवको नीति तथा कार्यक्रम र बजेट आइतबार नै गाउँ सभामा पेस गरेको जनाएको छ।

रामेछापमा कृषि, शिक्षा, पर्यटनलाई प्राथमिकता

रामेछापका स्थानीय तहले आगामी आवको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। यहाँका स्थानीय तहले आफ्नो नीति, कार्यक्रम र बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिएका छन्।

रामेछाप सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले आगामी आवका लागि एक अर्ब चार करोड ५७ लाख ९२ हजार ८३७ रुपियाँको बजेट सार्वजनिक गरेको छ। आइतबार नगर सभाको १३ औँ अधिवेशनमा नगर प्रमुख लव श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा नगरका प्रमुख सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने, एक वडा एक उत्पादनको नीति अनुरूप पकेट बालीमार्फत व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने, दुध बिक्रीबाट किसानलाई दिइँदै आएको प्रतिलिटर दुई रुपियाँ अनुदानलाई बढाएर दुई रुपियाँ ५० पैसा पु¥याउने उल्लेख छ।

यस्तै उमाकुण्ड गाउँपालिकाले आगामी आवका लागि ६० करोड ५८ लाख ६३ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। गोकुलगङ्गा गाउँपालिकाले आव २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले ७४ करोडको बजेट सार्वजनिक गर्नुभयो। खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आव २०८०/८१ को नीति तथा कार्यक्रम र आर्थिक ऐन २०८० पनि गाउँ सभाले स्वीकृत गरेको छ। अधिवेशनमा गाउँपालिका उपाध्यक्ष रमा घिसिङले गाउँपालिकाको आगामी आवको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्वास्थ्यतर्फ निःशुल्क एम्बुलेन्सको व्यवस्थालाई निरन्तरता दिइने उल्लेख छ। त्यसका लागि रेफरल फन्डको व्यवस्थापन गरिने नीति कार्यक्रममा उल्लेख छ। स्वास्थ्य बिमा कार्यक्रमलाई थप विस्तार गरिने तथा पालिकाभित्र बसोबास गरेका अति विपन्न परिवार र कोही नभएका तथा केही नभएका व्यक्तिलाई प्रथम पटकको बिमा शुल्कबापतको रकम गाउँपालिकाबाट अनुदानस्वरूप प्रदान गरिने नीति गाउँपालिकाले तय गरेको छ। कक्षा ५ को स्रोत केन्द्रस्तरीय र कक्षा ८ को पालिकास्तरीय परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालनलाई निरन्तरता दिइने भएको छ।

उत्कृष्ट विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक र शिक्षासेवीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइने भएको छ। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धतालाई साकार पार्न कक्षा ६–८ सञ्चालित विद्यालयलाई डे बोडर्स र कक्षा ९–१२ सञ्चालित विद्यालयका लागि एक आवासीय विद्यालयको पूर्वाधार निर्माण र अति सीमान्तकृत समुदायका विद्यार्थीलाई आवासीय विद्यालय बनाई शैक्षिक गुणस्तर सुधारको सुनिश्चितता गरिने नीति तथा कार्यक्रम गाउँपालिकाले बनाएको छ।

भ्यु टावरलाई तीन लाख

आगामी आर्थिक वर्षका लागि मकवानपुरको कैलाश गाउँपालिकाले ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँ सभाको आइतबार बसेको १२ औँ अधिवेशनमा सो गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले आन्तरिक राजस्वबाट एक करोड ६२ लाख बेहोर्ने गरी प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मतिले स्वीकृत गरेको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाले झन्डै साढे छ करोड रुपियाँ घटाएर आव २०८०/८१ को बजेट ल्याएको छ। सो गाउँपालिकाले शनिबार भएको गाउँ सभामा ५९ करोड ९५ लाख २५ हजार रुपियाँको बजेट पेस गरेको हो। सो बजेटमा चालुतर्फ ३५ करोड ४१ लख ६० हजार र पुँजीगततर्फ २४ करोड ५३ लाख ६५ हजार रुपियाँ विनियोजन गरिएको छ। यो बजेट गत आवको बजेटभन्दा छ करोड ४८ लाख ९० हजार रुपियाँले कम हो।

अनुत्पादक क्षेत्र मानिएको र बागमती प्रदेश सरकारले समेत आगामी आवदेखि लगानी नगर्ने घोषणा गरेको भ्यु टावरको डिपिआर बनाउन यो गाउँपालिकाले तीन लाख रुपियाँ विनियोजन गरेको छ। बिउ संरक्षण केन्द्र स्थापना, कृषक पाठशाला कक्षा सञ्चालन, औद्योगिक ग्राम सञ्चालन, निःशुल्क स्वास्थ्य बस सेवा सञ्चालन र स्थानीय गौरवका योजनालाई प्राथमिकता दिने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याइएको छ।

काभ्रेका तीन स्थानीय तहको सभा स्थगित

काभ्रेपलाञ्चोकका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँ तथा नगर सभामा पेस गरेका छन्। बनेपा नगरपालिकाले आइतबार एक अर्ब ३५ करोड ५० लाख रुपियाँ बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ। रोशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ७४ करोड २७ लाख ६० हजार रुपियाँ बराबरको बजेट ल्याएको छ। नमोबुद्ध नगरपालिकाले ७२ करोड ७५ लाख ६४ हजार ८२७ रुपियाँको अनुमानित नगर सभामा बजेट पेस गरेको छ। नगरपालिकाले चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६३० रुपियाँको बजेट ल्याएको हो।

बेथानचोक गाउँपालिकाले ६० करोड ६९ लाख ४० हजार तीन सय र खानीखोला गाउँपालिकाले ५१ करोड रुपियाँको अनुमानित आय, व्यय गाउँ सभामा प्रस्तुत गरेका छन्। यसै गरी मण्डनदेउपुर नगरपालिकाले एक अर्ब सात करोड ९९ लाख ९८ हजार रुपियाँ र पाँचखाल नगरपालिकाले ७९ करोड रुपियाँ बराबरको बजेट ल्याएको छ। यस्तै चौँरीदेउराली, तेमाल र भुम्लु गाउँपालिकाले नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेका छन्। तेमाल गाउँपालिकाले असार १४ गते बजेट पेस गर्ने जनाएको छ। धुलिखेल नगरपालिकाले गत बुधबार आगामी आव २०८०/८१ का लागि एक अर्ब १५ करोड १५ लाख रुपियाँ बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेको थियो।

पनौतीको नगर सभा स्थगित

आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न पनौती नगरपालिकाको १३ औँ नगर सभा बैठक बसे पनि अधिकांश नगर सदस्यले विरोध गरेपछि सभा स्थगित भएको छ। नेकपा (एमाले) बाट निर्वाचित उपप्रमुख गीता बञ्जारालगायतका वडाध्यक्ष, कार्यपालिका सदस्यले आफूहरूलाई बजेटको कुनै जानकारी नदिइएको, नगरपालिकाको आन्तरिक आम्दानी, कर्मचारीको व्यवस्थापनको विषयमा कुनै सल्लाह नगरेको भन्दै विरोध जनाएपछि सभा स्थगित भएको हो।

गाउँ सभामा झडप

धादिङको रुवीभ्याली गाउँपालिकाको गाउँ सभाका क्रममा झडप भएको छ। आइतबार गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको गाउँ सभा अधिवेशनका क्रममा विवाद हुँदा झडप र तोडफोड भएको प्रहरीले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोत व्यक्ति नियुक्त गरेको भन्दै विरोध गरेका थिए। त्यस क्रममा उनीहरूले गाउँ सभा भइरहेको मञ्च तोडफोड गरेका थिए। त्यसपछि भएको झडपका क्रममा केही जनप्रतिनिधि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो। नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि गाउँ सभा पुनः सुरु गर्नका लागि छलफल जारी रहेको मिश्रले बताउनुभयो।

सुनकोशीको बजेट सार्वजनिक

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आव २०८०/८१ का लागि ५३ करोड ५५ लाख रुपियाँको बजेट गाउँ सभामा पेस गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामाले सम्पत्ति कर, भूमि कर, व्यवसाय कर, मनोरञ्जन कर, जीवजन्तु करलगायतका विभिन्न क्षेत्रमा कर उत्कृष्ट नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै आगामी योजना सार्वजनिक गरिएको जानकारी दिनुभयो। गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले आव २०८०/८१ मा गाउँपालिकावासीले छुन सक्ने, देख्न सक्ने र महसुस गर्न सक्ने खालका नीति तथा कार्यक्रम ल्याइएको जानकारी दिनुभयो।गोरखापत्र दैनिकबाट