काठमाडौं - इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी बासले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको जानकारी दिएका छन्। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको पुष्टि गरेको बताए। तर, विपिनको वर्तमान अवस्थाबारे विस्तृत जानकारी उपलब्ध नभएको राजदूतले स्पष्ट पारे।
"हामी विपिन चाँडै नेपाल फर्किने आशा गर्छौं," राजदूत बासले भने। "उहाँ अपहरणमा परेका कैयौँ व्यक्तिहरूमध्ये रिहा हुने मध्ये एक हुनुहुनेछ भन्ने विश्वास छ।"
राजदूतावासका अनुसार हाल हमास लडाकुहरूको कब्जामा १०० भन्दा बढी इजरायली र विदेशी नागरिक बन्धक रहेका छन्। सन् २०२३ को अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभलमा हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने ११औं विद्यार्थी विपिन जोशीलाई अपहरण गरिएको थियो।
इजरायली सरकारले मारेका नेपाली विद्यार्थीका परिवारलाई इजरायली नागरिकका परिवारसरह आर्थिक सहयोग उपलब्ध गराइरहेको राजदूतले बताए। साथै, उनले ‘अर्न एन्ड लर्न’ कार्यक्रम पुनः सुरु हुने अपेक्षा पनि व्यक्त गरे।
हालको युद्ध परिस्थितिलाई ध्यानमा राख्दै नेपालले इजरायलमा कृषि विद्यार्थी पठाउने कार्यक्रम रोकिएको छ। तर, अन्य देशका विद्यार्थीहरूले पुनः इजरायल फर्कन सुरु गरिसकेको जानकारी दिंदै राजदूत बासले भने, "इजरायली कृषकहरूले नेपाली विद्यार्थीहरूलाई पुनः फिर्ता ल्याउन इच्छुक छन्।"
विपिन जोशीको सकुशल उद्धारका लागि नेपाल सरकार, इजरायल सरकार, र अन्तर्राष्ट्रिय समुदायबीच समन्वय जरुरी रहेको राजदूत बासले औंल्याए। विपिन जोशीको परिवारसहित सम्पूर्ण नेपालीहरूले उनको सुरक्षित स्वदेश फिर्तीको प्रतीक्षा गरिरहेका छन्।