प्रहर खबर
 २०८३ भाद्र १७, बुधवार    

नेपाल समूह विजेता बन्दै सेमिफाइलमा, फाइनल प्रवेश गर्न भारतसँग खेल्ने

२०८१ कार्तिक ८, बिहीबार २०:०४ बजे

काठमाडौं – साफ वुमन्स च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ६-० ले पराजित गरेको छ । श्रीलंकालाई पराजीत गरेसँगै नेपाल समूह बी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई, सबिता राना मगर, सावित्रा भण्डारी, अमिसा कार्की र रश्मी कुमारी घिसिङले एक–एक गोल गरे ।

योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी खेलको नेपालले माल्दिभ्सलाई ११–० ले पाखा लगाएको थियो। भुटानले सोही टोलीमाथि १३–० को जित निकालेको थियो।

नेपालले अन्तिम चारमा अर्को समूहको उपविजेता भारतसँग खेल्नेछ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएपनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। यस्तै, नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ।