प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छापियो

२०७९ कार्तिक २, बुधबार ०८:४७ बजे

हेटौंडा – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित प्रणालीतर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार छापिएका मध्ये प्रतिनिधि सभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेका छन्

प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

त्यस्तै प्रदेशसभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको जनाएको छ ।

दोस्रो चरणको मतपत्र ढुवानी भोलीबाट
समानुपातिक निर्वाचन प्रणालीतर्फ भोलि ९बिहीबार०देखि दोस्रो चरणको मतपत्र ढुवानी शुरु हुने आयोगले जनाएको छ । पहिलो चरण अन्तर्गत प्रदेश नं। १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको आयोगले जनाएको छ ।

यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ ।