हेटौंडा – बागमती प्रदेशका नवनियुक्त भौतिक पुर्वाधार बिकास मन्त्री अमन कुमार मास्केले पदभार ग्रहण गरेका छन् । आजमात्र मन्त्रीमा नियुक्त भएका मन्त्री मास्केले साझ पदभार ग्रहण गरेका छन् । पदभार पछि भएको छलफलमा बोल्दै भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो अभियान रहेको उनको भनाई थियो । उनले भने-सेतो लुगा लगाएका छौ त्यसमा दाग लगाउने काम नगरौ, अरुको कारण पनि बाछिटा आउन सक्छ त्यसबाट पनि वच्न पर्छ ।
बजेट सहि तरिकाले कार्यान्वयन गर्न कर्मचारीको महत्त्वपूर्ण भुमिका हुने भन्दै ईमानदार भएर लाग्न आग्रह गरे। प्रदेश निर्वाचन क्षेत्रमा सम्बन्धित सांसदलाई उत्तरदायित्व बहन गर्ने गरी कार्यक्रम बनाउनुपर्ने पनि उनको भनाई थियो ।
मन्त्रालयका गतिविधि सम्पादन गर्न निरन्तर छलफल गर्ने, कर्मचारीको वृत्ति बिकाशको लागि सहजीकरण गर्ने पनि उनले बताए । महत्त्वपूर्ण मन्त्रालय भएकोले अब्बल मन्त्रालयको रुप हुने गरि काम गर्न कर्मचारीलाई आग्रह गरे ।
पदभार ग्रहण गर्दै मन्त्री मास्केले बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत आयोजना निर्देशनालय तथा कार्यालय मार्फत संचालन भएका आयोजनाहरु तोकिएबमोजिम समयावधिमा सम्पन्न नभई अपेक्षित प्रतिफल प्राप्त गर्न ढिलाई भईरहेको सन्दर्भमा त्यस्ता आयोजनाहरुको पहिचान गरी, कार्यान्वयनमा भएका ढिलासुस्तीको वास्तविक कारण पहिल्याई, यथोचित कारवाही अगाडि बढाई रुग्ण आयोजनाहरुको पहिचान, रुग्ण हुनुको वास्तविक कारण तथा व्यवस्थापनका लागि सुझाव सहित १५ दिन भित्र प्रतिवेदन पेश गर्ने निर्णय गरेका छन् ।
यसका लागि यातायात पूर्वाधार निर्देशनालयका का।मु। निर्देशक पुष्कर प्रसाद पोखरेलको सयोजकत्व, महाशाखा प्रमुखहरु चन्द्रकाजी गुरुङ, चन्द्रदेव भट्ट सदस्य रहेका छन् ।