प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

लागुऔषध सहित सात जना पक्राउ

२०७९ भाद्र २९, बुधबार ०७:१० बजे

हेटौंडा – प्रहरी विभिन्न जिल्लाबाट लागुऔषध सहित सात जनालाई पक्राउ गरेको छ ।

सर्लाही लालबन्दी नगरपालिका–५ डेरा गरी बस्ने दिलिप साहको कोठाबाट ५ केजी लागूऔषध गाँजा सहित मलगंवा नगरपालिका–९ बस्ने ४९ वर्षीय वीरेन्द्र चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले लागूऔषध बोकी ल्याएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

झापा बिर्तामोड नगरपालिका–६ घर भई हाल सोही नगरपालिका–५ डेरा गरी बस्ने २८ वर्षीय मोहन राजबंशीलाई ५ ग्राम ३ सय १० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका–५ मेचिपुल छेउबाट ३ ग्राम ६ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–२ बस्ने ३६ वर्षीय लोकराज राजबंशी र कन्काई नगरपालिका–८ बस्ने २५ वर्षीय अजय राजबंशी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको मे।१ ह ४७३४ नम्बरको अटो टेम्पोलाई अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोको चाबी बक्समा लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी चालक लोकराज राजबंशी र टेम्पोमा सवार अजयलाई पक्राउ गरेको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट करिब ४ ग्राम ८ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका–८ महावन बस्ने ३१ वर्षीय ईश्वर घर्ती र सोही नगरपालिका–१४ वोर्ड गाँउ बस्ने २० वर्षीय तुल्सीराम थारु रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको लु।७० प ४३९३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक डेरा गरी बस्ने बझाङ छविस पाथिभरा गाउँपालिका–४ घर भएका २४ वर्षीय बिशाल थापालाई ७ ग्राम २ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर