हेटौंडा – विश्व आत्महत्या रोकथाम दिवस । नेपाल प्रहरीले ७ वटा प्रदेश राजधानीमा प्रदेशस्तरिय र ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला स्तरिय आत्महत्या रोकथाम सम्बन्धी र्याली सहितको सचेतनामुलक कार्यक्रम आइतबार देशैभरी एकैपटक संचालन गरेको छ ।
हेटौंडामा पनि बागमती प्रदेश प्रहरी कार्यालयले आत्महत्या रोकथाम दिवस मनाइएको छ । प्लेकार्ड, माईकिङ, प्रहरी व्याड सहित हेटौंडा बजारको विभिन्न स्थान परिक्रमा र एक समारोहबीच आत्महत्या रोकथाम दिवस मनाइएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

मुख्यमन्त्री पाण्डेले आत्महत्या रोकथाम प्रहरीले संचालन गरेको देशव्यापी कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको बताए । उनले प्रहरीको यस गतिविधिले प्रदेश सरकार लगायत सरोकारवाला निकायहरुलाई एकपटक झकझकाएको बताए । कार्यक्रममा प्रहरीले प्रस्तुत गरेको कार्यपत्रले प्रदेश सरकारलाई आत्महत्या रोकथामको लागि नीति बनाउन फलदायी हुने बताए । मानिसको जीवन सवैभन्दा महत्वपुर्ण भएकोले यसलाई जोगाउन सबै पक्षले नैतिक शिक्षा लिन र दिन जरुरी रहेको समेत उनले बताए।

मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले आत्महत्या रोक्नको लागि सचेतनामुलक कार्यक्रम नियमित गर्नुपर्नेमा जोड दिए । ‘मानिसको जीवन अमुल्य छ । यसलाई जोगाउन सबै पक्षले आ–आफ्नो तबरबाट लाग्नुपर्ने पर्छ,’ उनले भने, ‘यस किसिमको सचेतनामुलक कार्यक्रम नियमित गर्नुपर्ने हुनुपर्छ ।’
प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले बढ्दो आत्महत्याको दरलाई न्युनिकरण गर्न बागमती प्रदेश प्रहरीले विगत देखिनै विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको दाबी गरे । उनले यसलाई अझ बढी प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीत तह लगायत विभिन्न सरोकारवाला निकायहरुसंगले समन्वय र सहकार्यमा बढाउनु पर्नेमा जोड दिए ।
उनले प्रहरीको जनचेतना मुलक काममा हातेमालो गर्न अन्य निकायहरुलाई आह्वान समेत गरे। ‘व्यक्तिले आत्महत्या गर्नुअघि केही, न केही प्रतिकृया जनाउन छ, समयमानै पहिचान गरी परामर्श दिन सकेमा आत्महत्या न्युनिकरणमा सहयोग पुग्नेछ,’ उनले भने । बढ्दो आत्महत्या न्युनिकरणको लागि तत्कालै नीति बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा हेटौंडा अस्पतालका चिकित्सक लव कार्कीले आत्महत्याको जोखिम क्षेत्र एवं वर्गको पहिचान गरी समयमानै मनोपरामर्श दिन ठाउँ ठाउँमा मनोपरामर्श केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए। त्यसैगरी संचारकर्मी मणिराज गौतमले बढ्दो आत्महत्याको दरलाई न्युनिकरण गर्न संचार माध्यमबाट विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमलाई व्यापक रुपमा लैजाने पर्नेमा बताए ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले कार्यक्रमबारेमा जानकारी दिंदै आत्महत्याको वर्तमान अवस्था, चुनौतिहरु तथा सम्भाव्य रोकथामका उपायबारे प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा प्रमुखमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा, मकवानपुर स्थित विभिन्न पालिकाहरुका प्रमुखहरु, जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु लगायतकाको आतिथ्यता रहेको थियो ।